
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि २०७१ साल माघमा शिलान्यास भयो । यसको अर्को वर्ष २०७२ मा रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा एसआर होटल निर्माण सुरु भयो । यो होटलको निर्माण सुरु हुँदा तिलोत्तमा क्षेत्रमा एउटा बाहेक अरु पर्यटकीय स्तरका होटल थिएनन् ।
‘मणिग्राममा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मात्र थियो । त्यस बाहेक तिलोत्तमामा स्तरीय होटल थिएनन्,’ एसआर होटलका महाप्रबन्धक केशव पौडेल सम्झिन्छन् । निर्माण सम्पन्न भएर २०७५ बाट एसआर होटल सञ्चालनमा आएको छ । योसँगै बुटवल–भैरहवा ६ लेन सडक आसपास थुप्रै स्तरीय होटल खुलेको महाप्रबन्धक पौडेल बताउँछन् । ‘तिलोत्तमा नगर क्षेत्रको ६ लेन सडक आसपास ३० बढी कोठा भएका पर्यटकीय स्तरका डेढ दर्जन होटल छन्,’ उनले भने, ‘त्यसबाहेक थुप्रै स्तरीय रेष्टुरेन्ट, कटेज र थोरै कोठाका होटल खुलेका छन् ।’ पौडेलका अनुसार भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यो क्षेत्रमा धेरै पर्यटक आउँछन् भन्ने आशामा थुपै व्यवसायीले होटलमा लगानी गरेका थिए ।


‘बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र फैलिँदै गरेको बजारको अवस्थालाई हेरेर होटल खोल्ने निर्णय गरेका हौं,’ एसआरका महाप्रबन्धक पौडेलले भने, ‘हामीलाई होटल बाहेक अरु पेशा अंगाल्न नपर्ला, त्यसैले किनारा लगाउँछ भन्ने आशा थियो । तर अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा निराश छौं ।’ होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले मणिग्रामको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पूर्वाधार थपेर चार तारेमा स्तरोन्नति गरे । अहिले बुटवलमा दुई तारे ड्रिम इन्टरनेशनल होटल सञ्चालनमा ल्याएका छन् । तर, पर्यटक अभावमा व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनको गुनासो छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशामा तिलोत्तमासँगै बुटवल, भैरहवा र लुम्बिनीमा पनि थुप्रै स्तरीय होटल थपिए । त्यसबाहेक सैनामैना नगरपालिका, लुम्बिनी नजिकका शुद्धोधन र सियारी गाउँपालिकामा पनि स्तरीय होटल र कटेजहरु निर्माण भएका छन् । हानका केन्द्रीय सदस्य राना अन्तर्राष्ट्रिय विमानस्थलको आशामा निजी क्षेत्रबाट करिब २० अर्ब लगानी भएको बताउँछन् । ‘होटल व्यवसायको योजना बनाएर जग्गा खरिद र पूर्वाधार निर्माण समेत गरेर निजी क्षेत्रबाट २० अर्ब लगानी भइसक्यो,’ उनले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनीसँग कनेक्टीभिटी हुने गरी अन्तर्राष्ट्रिय उडान हुने आशामा व्यवसाय चल्छ भन्ने भयो । सरकारले त्यतिका खर्च गरेर बनाएको योजनामा सबैको विश्वास थियो ।’
अहिले रुपन्देहीमा एउटा पाँच तारे होटल टाइगर प्यालेस छ । तिलोत्तमाको कोटीहवामा रहेको टाइगर प्यालेसमा नयाँ व्यवस्थापन आएको छ । तर, अझै पूर्ण क्षमतामा चलेको छैन । तिलोत्तमाकै सिद्धार्थ विलासा, लुम्बिनीको होटल पवन प्यालेस पनि पाँच तारे स्तरका हुन् । तर, मान्यता पाइसकेका भने छैनन् । अन्य थुप्रै तारे स्तरका होटल सञ्चालनमा आएका छन् । कतिपय निर्माण हुने क्रममा छन् । सन् २०१६ सम्म लुम्बिनीमा ४५ वटा जतिमात्र होटल थिए । कोभिड अगाडि ३ वर्षको बीचमा ४० होटल थपिए । यही अवधिमा काठमाडौं, पोखरा लगायतका व्यवसायीले लुम्बिनीमा जग्गा पनि जोडे । तर, कोभिड सुरु भएपछि होटल बनाएनन् । होटल संघ लुम्बिनीका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठका अनुसार कोभिड सुरु नभएको भए ती सबै जग्गामा अहिले ५० वटा जति होटल बनेका हुने थिए । ‘तीन–चार वर्षको अवधिमा ४५ बाट ८५ होटल पुगे । कोभिड नभएको भए अझै ५० जति थपिन सक्थ्यो,’ उनले भने, ‘जग्गा किने पनि उनीहरुले होटल खोल्न पाएनन् ।
कोभिडको प्रभाव र आर्थिक मन्दीका कारण केही होटल पनि बन्द भए । ८५ मध्ये १५ वटा बन्द छन् भने ७० सञ्चालनमा छन् ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र लुम्बिनीमा पर्यटकीय चहलपहल बढ्ने आशामा बाहिरका व्यवसायीहरुले पनि जग्गा किनेका थिए । विमानस्थल निर्माण हुने र बुटवलमा प्रदेशको राजधानीसमेत बनेपछि यहाँका थुप्रै व्यवसायी आशावादी बनेका थिए । आशा र उत्साहका कारण लगानी गरेका व्यवसायी अहिले निराश भएको होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल बताउँछन् । ‘आशा र उत्साहका कारण ऋण खोजेर व्यवसायीहरुले लगानी गरेका थिए । ऋणधन गरेर पूर्वाधार बनाएका थिए । अहिले सबै विचलित छन्,’ उनले भने, ‘आर्थिक मन्दीको असर त देशव्यापी छ । तर, रुपन्देहीमा त्यतिको लगानीमा बनेको एयरपोर्ट व्यवस्थित रुपमा सञ्चालन हुन नसक्नु सबैभन्दा दुर्भाग्य हो ।’
२०७९ जेठ २ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले उडान पनि सुरु गरेको थियो । पछिल्लो केही महिनादेखि जजिराले भैरहवाबाट उडान रोकेको छ । अहिले साताको एक दिन नेपाल वायुसेवा निगमले मलेशिया–भैरहवा–काठमाडौं उडान गरिरहेको छ । योबाहेक अरु अन्तर्राष्ट्रिय उडान भएको छैन । उद्घाटन भएको डेढ वर्षसम्म पनि विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी निराश छन् । विमानस्थल चलायमान नहुने हो भने धेरै व्यवसायी विस्थापित हुने अवस्था आउने होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालको भनाइ छ । ‘जुन विमानस्थललाई हेरेर व्यवसायीले लगानी गरेका थिए, त्यही नचलेपछि विमानस्थल चलाउनुपर्ने माग राखेर व्यवसायी आन्दोलनमा उत्रन बाध्य भएका छन्,’ उनले भने ।
लुम्बिनीमा ३० करोडको रुसी बौद्ध मन्दिर
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १ सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटर्सबर्गस्थित रसियन गुम्बाको प्रारूपसहित मन्दिर निर्माण सुरु भएको हो । नेपालस्थित रसियन दूतावास, रुस–नेपाल मैत्री संघ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीको संयुक्त प्रयासमा मन्दिर निर्माण हुनेछ । यसका लागि ३० करोड रुपैयाँ लगानी गरिने जानकारी रूसी गुम्बा नेपालका संयोजक प्रविण गौचनले दिए । उनका अनुसार लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको १ विघा क्षेत्रफलमा यो मन्दिर सन् २०२५ भित्रमा बनाउने लक्ष्य राखिएको छ ।
हालै रसियन गुम्बाको एक टुक्रा ढुंगा लिएर रसियाबाट आएको भिक्षुहरुको टोली र रसियन राजदूत असेक्सेई नोभिकोभले मन्दिर निर्माणको शिलान्यास गरेका थिए । साढे २ तले मन्दिर नेपालको सिई कन्स्ट्रक्सनले बनाउनेछ । यसको निर्माण सुरु भइसकेको छ । शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले बुद्ध जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरु हुनुले नेपाल–रसिया मैत्री सम्बन्ध थप मजबुत भएको बताए ।
रुसका लागि पूर्व राजदुत ऋषिराम घिमिरेले रुसी बौद्ध मन्दिर निर्माण बुद्ध भूमिको महत्व बढाउन नयाँ कडी भएको उल्लेख गरे । बुद्ध जन्मस्थान लुम्बिनीमा २७ देशले आ–आफ्नो देशको प्रतिनिधित्व हुनेगरी मन्दिर तथा गुम्बा निर्माण गरिसकेका छन् । लुम्बिनी विकास कोषका अनुसार अहिलेसम्म ४० वटा देश तथा संघसंस्थासँग संरचना निमार्णका लागि सम्झौता भएको छ । रुसमा कुल जनसंख्याको झण्डै १२ प्रतिशत बौद्धमार्गी छन् ।