
सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड फुकोट कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटाउने अभियानमा लागेको छ । ४८० मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त आयोजनाको सम्भाव्यता अध्ययनलगायत काम सकिएपछि कम्पनी लगानी जुटाउने तयारीमा लागेको हो ।
आयोजनाको अध्ययन तथा परीक्षण सुरुङ (टेस्ट टनेल) खन्ने कामसमेत अन्तिम चरणमा पुगेको छ । आयोजनाको पावरहाउससम्म पुग्न ५२० मिटर परीक्षण सुरुङ खन्नुपर्नेमा अब करिब ५० मिटर मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ । विस्तृत परियोजना अध्ययन प्रतिवेदन सकिएर वातावरणीय प्रभाव मूल्यांकनको फाइल वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पुगेको कम्पनीले जनाएको छ । एनईए इन्जिनियरिङ कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन गरेको आयोजनाको परीक्षण सुरुङ निर्माण वाइवा इन्फ्राटेकले गरेको हो ।


हाल अध्ययनको सम्पूर्ण काम सकिएर लगानी जुटाउने अन्तिम तयारी भइरहेको आयोजना प्रमुख हीरामान वाइवाले जानकारी दिए । ‘पावरहाउससम्म पुग्न चाहिने परीक्षण सुरुङ तथा अन्य अध्ययन करिब सकिएको छ,’ उनले भने ‘अब वन मन्त्रालयबाट वातावरणीय अध्ययन स्वीकृति पर्खाइमा छौं ।’ लगानी जुटेको अवस्थामा तुरुन्त निर्माणमा जान सकिने आयोजना प्रमुख वाइवा बताउँछन् । ९२ अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनाका लागि भारतीय, चिनियाँ तथा कोरियन कम्पनीले चासो देखाएका छन् । पहिलो चरणमा भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग लगानीको छलफल भए पनि सरकारले हालसम्म सम्झौता गरेको छैन । एनएचपीसी लिमिटेडका अध्यक्ष अभयकुमार सिंहले भारतको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूहरूका फुकोट कर्णाली निर्माणको समझदारीपत्र पठाइएको र यसलाई नेपाल सरकारले हेरिरहेको बताएका थिए । कोरियन कम्पनी कोस्पो तथा केही चिनियाँ कम्पनीले पनि आयोजनामा चासो देखाएको बताइएको छ ।
कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३ सिस्नेगडामा ड्याम बनाएर सुरुङमार्फत भौरेकुनामा पुर्याउने गरी आयोजना निर्माण गरिनेछ । आयोजनाको पावरहाउस भौरेकुनामा बनाइनेछ । आयोजनामा डेढ किमि लामो र ११ मिटर व्यासको डाइभर्सन टनेलमार्फत कर्णालीको पानी फर्काएर मुख्य ड्याम निर्माण गरिनेछ ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना गाउँपालिका र खाडाचक्र नगरपालिकाका केही भूभाग प्रभावित हुने ४ सय ८० मेगावाट क्षमताको आयोजनामा ६ किमि मुख्य टनेल निर्माण गरिनेछ । आयोजनाबाट वार्षिक २ हजार ४ सय ५५ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । कर्णाली नदीको तीरमा पर्ने नरहरिनाथ र सान्नीत्रिवेणीको सिमाना भौरेकुनाभीरमा परीक्षणका लागि टनेल खन्ने काम करिब ५० मिटर बाँकी रहेको आयोजना प्रमुख वाइवाले बताए । १ सय ८० मिटरको ड्यामबाट पावरहाउसमा पानी ल्याइनेछ । सान्नीत्रिवेणी, रास्कोट र पचालझरनाको तल्लो भेगमा जलाशय हुने उनको भनाइ छ । पावरहाउसबाट उत्पादित विद्युत् ४ सय केभीको रेलिङ सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाउने योजना छ । ‘वातावरण प्रभाव मूल्यांकनको काम सकिएर मन्त्रालयमा फाइल पठाइएको छ,’ उनले भने, ‘डुबानमा पर्ने सबै जग्गाको मुआब्जाको काम पनि सकिएको छ ।’Source:Kantipur