
बुटवलमा बिक्री हुने अधिकांश मासु पसलहरु अस्वस्थकर रहेको रिपोर्ट गुणस्तर कार्यालयले वर्षेनी सार्वजनिक गर्छ । राजमार्ग, सडक छेउमा खुला र सामान्य मापदण्ड समेत नपुगेका मासुु पसलको मासु उपभोग गर्न बुटवलवासी बाध्य छन् । नगरपालिका, प्रशासन, गुणस्तर तथा वाणिज्य कार्यालयहरुबाट हुने अनुगमनमा अस्वस्थकर मासु बिक्री हुने पसलको अनुगमन भए पनि कारबाही हँुदैन ।
अस्वस्थकर मासु बन्देज हुनेगरी ०६६÷०६७ सालमै बुटवलमा बधशाला निर्माणको थालनी भएको थियो । तर निर्माण गर्ने निकायहरुको ढिलाईले अहिले पनि बधशाला सञ्चालन हुन सकेको छैन । बधशालाका लागि विभिन्न समयमा विभिन्न निकायबाट करिव २७ करोड खर्च भइसकेको छ । पूर्वाधारहरु जीर्ण हुने अवस्थामा छन् ।


बुटवल उपमहानगरमा मेयर शिवराज सुवेदी रहेका बेला साझेदारीमा बधशाला सञ्चालन गर्ने मोडालिटी बन्यो । त्यसै अनुरुप बजेट बिनियोजन भई पूर्वाधार निर्माणको काम भयो । सञ्चालनका लागि निजी क्षेत्रलाई दिने र सो वापत भाडा असुल्ने गरी बनेको योजना कार्यान्वयन गर्ने चरणमा पुगेको छ ।
बधशाला सञ्चालनका लागि बुटवल उप–महानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको छ । दुईपक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उनले जानकारी दिए ।
बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने प्रमुख पाण्डेयले जनाए ।
बधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म बधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार बधशाला सञ्चालन हुने उनले बताए ।
बधशाला सञ्चालनका लागि बुटवल उप–महानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।
विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ ।
कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलवासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयले बताए ।
बधशाला सञ्चालनका लागि एकसाताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । उनले बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको बताए ।
बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उप–महानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिट्टै नै बधशाला सञ्चालन हुने जनाए ।
उनले बधशालाको परीक्षण समेत भइसकेकाले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर बधशाला सञ्चालनमा ल्याउने बताए ।
बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उप–महानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ । बुटवल उप–महानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ । बधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उप–महानगर, हेफरसहितको लगानी छ ।
दैनिक एक हजार खसी–बोका बध गर्न मिल्नेगरी बधशाला बनाइएको छ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण छन् ।
यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने योजना छ ।
बधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उप–महानगरबीच भएको सम्झौताअनुसार बधशाला निर्माणपश्चात् उत्पादक किसानहरू र मासु व्यवसायीहरूले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा.लि.ले सो बधशाला सञ्चालन गर्ने सहमति छ ।
बुटवल बधशालामा करिब १२ हजार खसी–बोका उत्पादक महिला किसानहरू र ३ सय जना मासु व्यवसायीहरू सहभागी हुने बताइएको छ ।Source:Butwal dainik