पराजुली समाज नेपालको रजत् जयन्ती भव्य रूपमा सम्पन्न

२०८३ जेष्ठ २, शनिबार १७:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

राष्ट्रिय सांगीतिक तथा सांस्कृतिक कार्यक्रमले जुटायो पराजुली समुदाय

काठमाडौं, २०८३ जेठ २ — पराजुली समाज नेपाल ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव तथा रजत् जयन्तीको अवसरमा बृहद् राष्ट्रिय सांगीतिक एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। “बन्धुमिलन, एकता एवं समाजका लागि पराजुलीको हातेमालो” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रम काठमाडौंको Royal Majestic Event, तिनकुनेमा सम्पन्न भएको हो।

समाजले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट पराजुली समुदाय, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो।

पहिलो सत्र अन्तर्गत औपचारिक उद्घाटन, स्वागत तथा शुभकामना मन्तव्य कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमको सञ्चालन समाजका महासचिव विष्णु प्रसाद पराजुली ले गर्नुभएको थियो भने उद्घाटन सत्रको अध्यक्षता समाजका अध्यक्ष विश्वम्भरकृष्ण पराजुली ले गर्नुभएको थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी का उपनेता गणेश पराजुली, नेपाली काँग्रेस का कार्यालय सचिव एवं संविधान सभा सदस्य डा. सोभाकार पराजुली, साथै समाजका पूर्व अध्यक्ष कुल प्रसाद पराजुली लगायतको विशेष उपस्थिति रहेको थियो।

उक्त अवसरमा वक्ताहरूले समाजको एकता, पहिचान, संस्कृति तथा सामाजिक गरिमालाई अझ सशक्त बनाउन सबै पराजुली समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शिक्षा, कला, राजनीति, समाजसेवा तथा आर्थिक विकासका क्षेत्रमा समुदायको सक्रिय भूमिका अझ बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

सांगीतिक कार्यक्रम बन्यो मुख्य आकर्षण

रजत् जयन्ती समारोहको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार गणेश पराजुली को संयोजकत्वमा भव्य सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो।

सांगीतिक कार्यक्रममा दुर्गा पराजुली, देवी पराजुली, लक्ष्मी पराजुली, यसोदा पराजुली, भोजराज काफ्ले, नवराज घोरासैनी, नवराज पराजुली, सनिसा पराजुली, शिव शंकर रिजाल पानवाला, बलराम समाल, डीजराज पौडेल तथा भूपेन्द्र पराजुली लगायत कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए।

गीत, संगीत, सांस्कृतिक प्रस्तुति तथा सामूहिक सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्। सांगीतिक कार्यक्रमको सञ्चालन देवी पराजुलीद्रोण पराजुली ले संयुक्त रूपमा गर्नुभएको थियो।

पराजुली समाज नेपाल द्वारा आयोजित रजत् जयन्ती समारोहमा लाईभ म्युजिक कार्यक्रम विशेष आकर्षण बनेको छ। कार्यक्रममा वरिष्ठ संगीतकार गणेश पराजुली ले पाँच वटा गीत प्रस्तुत गर्दै माहोललाई थप उत्साहपूर्ण बनाउनुभएको थियो। साथै बलराम समाल, यसोदा पराजुली, मदनसिंह नेपाली, राजन प्रधान तथा अनिल थापामगर लगायतका कलाकारहरूले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागी २५० भन्दा बढी दर्शकहरूले नृत्यमार्फत उत्साहजनक साथ दिएका थिए। मान बहादुर साउद ले कार्यक्रमलाई पराजुली समाज नेपालको इतिहासकै सभ्य र भव्य समारोहको रूपमा टिप्पणी गर्नुभयो। कार्यक्रमको प्रत्यक्ष प्रसारण Life OK Television बाट गरिएको थियो भने सञ्चारकर्मी सस्मिता पाठक ले छायांकन तथा रिपोर्टिङ गर्नुभएको थियो।

विभिन्न संस्थाको सहयोग

कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रतिष्ठित संस्थाहरूले मुख्य प्रायोजन तथा सहयोग गरेका थिए। सहयोगी संस्थाहरूमा मनोहरा कृषि बजार, IME Group, इन्द्रेणी ग्रुप, Royal Alina Bakery Cafe, Hearing Aid Nepal, Rolpa Cement, Hotel Kutumba तथा Sahaj Security, Royal Majestic Events लगायत संस्थाहरूको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले पराजुली समुदायबीच आपसी सद्भाव, सहकार्य, सांस्कृतिक संरक्षण तथा सामाजिक एकतालाई थप मजबुत बनाएको विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार