जयनगरमा फर्निचर मेला, महिना दिनसम्म चल्ने मेलामा १० करोडको कारोबार हुने अपेक्षा

२०७९ माघ १३, शुक्रबार १२:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मधेस प्रदेशकै सबैभन्दा ठूलो फर्निचर मेला रौतहटमा सुरू भएको छ। एक दशकभन्दा बढी समयदेखि गरुडा नगरपालिका-१ जयनगरमा हुँदै आएको काठका विभिन्न फर्निचरको मेला यसपटक पनि भएको हो।

मेलामा रौतहटसँगै सर्लाही, बारा र पर्साका विभिन्न गाउँबाट फर्निचर व्यवसायीहरू आउने गरेका छन्। मुख्यगरी काठबाट निर्मित फर्निचरको ठूलो बिक्री मेलामा हुने गरेको छ।

एक महिनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा पलङ, खाट, कुर्सी, दराज, डाइनिङ टेबल, ह्‍याङ्गरलगायतका समानको मुख्य आकर्षण देखिन्छ। त्यसको साथै, घरायसी प्रयोगका अन्य काठको सामग्रीहरू पनि बिक्री वितरण हुन्छ।

गाउँघरकै काठ तथा प्लाइउडको प्रयोगले बनेका अधिकांश फर्निचरहरु बजारभन्दा २० प्रतिशतसम्म सस्तोमा पाइन्छ। स्थानीय मिस्त्री र श्रमिकबाट फर्निचर बनाई मेलामा ल्याएर सोझै बेच्ने भएकोले समान सस्तोमा पाइन्छ।

काठबाट निर्मित फर्निचर सस्तो पाइने भएकाले धेरै ठाउँका ग्राहकहरू फर्निचर मेलामा पुग्ने गरेका छन्। जयनगर फर्निचर मेलाबाट काठमाडौं, जनकपुर, पोखरा, वीरगंजका साथै सर्लाही, रौतहट र बाराका विभिन्न गाउँमा फर्निचर पुग्ने गरेका छन्।

साथै, भारतका विभिन्न ठाउँसम्म पनि मेलाबाट घरायसी प्रयोजनका लागि ग्राहकहरूले फर्निचर लैजाने गरेका छन्। मधेशमा माघपछि विवाहको लगन सुरु हुने गर्दा विवाहमा कोसेलीको रुपमा फर्निचरको समान दिने चलन छ।

विवाहमा दिइने एक सेट फर्निचरको समानको ४५ हजारदेखि डेढ लाखसम्म पर्ने व्यवसायीहरुले बताएका छन्। एक सेट फर्निचरको समानमा एक थान पलङ, ४ कुर्सी, डाइनिङ टेबल १ थानलगायत छन्।

१० करोडको कारोबार हुने अपेक्षा

मेलामा करिब १० करोड रुपैयाँको फर्निचरको कारोबार हुने स्थानीय व्यवसायीको भनाइ छ। हरेक वर्ष मेलाको कारोबार विस्तार हुँदै गएको छ।

फर्निचर मेलाले गाउँको मान बढाएको वडाध्यक्ष शेख ओहावले बताए। गौर-चन्द्रनिगाहपुर मुख्य सडकखण्डसँगै लाग्ने फर्निचर मेलाबाट फर्निचर व्यवसायी तथा उद्योगीहरूले पनि राम्रो आम्दानी लिने गरेका छन्।

फर्निचरको एकमुस्ट बिक्री हुने गरेकाले व्यवसायीहरूलाई फाइदा हुने गरेको उनीहरुले बताएका छन्। ठूलो संख्यामा फर्निचर व्यवसायीहरू मेलामा आफ्ना सामग्रीसहित आउने गर्दा फर्निचरको कला, लागत तथा अन्य विषयमा एक आपसमा अनुभव आदानप्रदान हुने गरेको व्यवसायीहरूले बताएका छन्।source: bizmandu

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार