नारायणी नदीपारि सुस्ता पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

२०८१ भाद्र ३१, सोमबार १५:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्‍याएको छ ।

प्राधिकरणले ११ केभी लाइन पुर्‍याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌सँग जोडिएको हो। सुस्ता बस्तीलाई जोड्न नारायणी नदीमा झोलुंगे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको प्राधिकरणले जनाएको छ। गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन।

सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभीए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन्। विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ। अब त्यहाँबाट उपभोक्ताको घर घरमा विद्युत् आपूर्ति शुरू गरिनेछ। सुस्ता बस्तीमा करीब ३५० घरधुरी छन्।

प्राधिकरणले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको बताएको छ । अहिले विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ ।

प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्तीबस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पुर्‍याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको समेत प्राधिकरणले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार