
मर्कन्टाइल अफिस सिस्टमको पुमोरी सफ्टवेयर अब इन्फोडेभलपर्स प्रालीअन्तर्गत रहने भएको छ । मर्कन्टाइलले बनाएको कोर बैंकिङ साेलुसन (पुमोरी) को व्यवस्थापन आगामी दिनमा इन्फोडेभलपर्सले गर्न लागेकोबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
इन्फोडेभलपर्स र मर्कन्टाइलबीच रणनीतिक सहकार्य भएको र योसँगै पुमोरी शाखा वा सफ्वटेयर इन्फोडेभलपर्ससँग मर्ज भएको कार्यक्रममा बताइएको थियो । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओए प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने भनिएको छ ।


नयाँ कम्पनीकको अध्यक्षमा सञ्जिव राजभण्डारी नियुक्त भएका छन् भने सीईओमा उमेश रघुवंशी र सह–सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् । पुमोरीको व्यवस्थापनसँगै बदलिँदो बैंकिङ परिवेशअनुरुप आफूहरूले अबको एक वर्षमा नविनतम प्रविधिमा आधारित परिष्कृत सफ्टवेयर पनि विकास गर्ने अध्यक्ष राजभण्डारीले कार्यक्रममा बताएका थिए ।
सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स सहकारी र लघुवित्तका लागि कोर बैंकिङ सोलुसन विकास गर्ने फिनटेक कम्पनी हो भने मर्कन्टाइलले ३२ वर्षदेखि नेपाली बैंकिङ क्षेत्र, अन्तराष्ट्रिय बैंकिङ तथा वित्तिय संस्थालाई सेवा दिँदै आएको छ ।