काठमाडौंमा पहिलोपटक इन्डो नेपाल वेडिङ समिट, वैवाहिक पर्यटनका लागि भन्सार सहजीकरणमा जोड

२०८० कार्तिक १९, आईतवार १५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा पहिलो पटक वेडिङ समिट गरिएको छ। नेपाल पर्यटन बोर्डको समन्वयमा भारतको प्रतिष्ठित व्यावसायिक समूह द बुलको डिजाइन र व्यवस्थापनमा बुल इभेन्टस म्यानेजमेन्ट नेपालले इन्डो नेपाल वेडिङ समिट गरेको हो।

विवाहलाई पर्यटनसँग सम्बन्धित उद्योगका रुपमा परिभाषित गर्ने एवम् नेपाललाई विवाह गन्तव्यको रुपमा प्रवर्धन गर्ने उद्देश्यले समिट गरिएको हो।

दुई दिने समिटमा भारतका शीर्ष ३० भन्दा बढी वेडिङ विजनेस प्लानर सहभागी थिए। नेपालका प्रतिष्ठित होटल, विवाह योजनाकार लगायत सरोकारवालाले पनि भाग लिएका थिए।

भारतीय वेडिङ विजनेस प्लानरले काठमाडौंका विभिन्न स्टार होटल तथा रिसोर्ट अवलोकन गरेका थिए। समिटका अवसरमा बिटुबी मिटिङ तथा सरोकारवालासंग समूहगत छलफल गरिएको थियो। छलफलका सहभागीहरुले नेपालमा वैवाहिक पर्यटनको पर्याप्‍त सम्भावना रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समिटले भविष्यमा विदेशी र खासगरी भारतीय विशिष्ट वैवाहिक समारोह आयोजना गर्न नेपाल नीतिगत, भौतिक तथा कानूनी संरचना लगायत सम्पूर्ण हिसाबले पूर्णरुपमा तयार भएको सन्देश दिएको बताए।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विदेशीबाट नेपालमा आयोजना गरिने विवाह समारोहका लागि आवश्यक सहजीकरणका लागि विभाग तयार रहेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले भन्सारले सुन तथा अन्य सामग्री ल्याउन लैजान छुट्टै प्रावधान रहेको जानकारी दिंदै अन्य विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

भारतको इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एसोसिएसनका अध्यक्ष समित गर्गले विश्‍वका विभिन्न देशमा भारतबाट वार्षिक सयौं विवाह समारोह आयोजना हुने गरेको सन्दर्भमा भारतीयका लागि नेपाल उपयुक्त गन्तव्य हुन सक्ने बताए।

भारतीय वेडिङ प्लानरले कला, संस्कृति, खानपान तथा तथा दुई देशबीचको सम्बन्धका कारण पनि नेपालमा यस्ता कार्यक्रम गर्न सकिने भन्दै पूर्वाधार विकास तथा भन्सार सहजीकरणमा ध्यान दिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय