कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ प्रशासनिक भवन: सेवा र उत्तरदायित्वको नयाँ अध्याय

२०८२ असार १८, बुधबार १६:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कागेश्वरी मनोहरा नगरपालिकाले आज नयाँ युगको थालनी गरेको छ—नगरको हृदयमै उभिएको अत्याधुनिक र भव्य प्रशासनिक भवनको औपचारिक उद्घाटनसँगै। यो केवल एउटा भवन होइन, नगरबासीप्रति समर्पित सेवाको नयाँ मानक हो, जुन आगामी दिनमा जनतासँगको सम्बन्ध झनै सुदृढ गर्ने उद्देश्यसहित निर्मित भएको छ।

उद्घाटन समारोहमा कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, संघीय सांसदहरु, संविधानसभा सदस्यहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो। उनीहरुले सबैले एक स्वरमा भवनले सेवाको आकार पनि विशाल बनाउनुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्री सिंहले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने,
“अब यो भवन केवल इँटा र सिमेन्टको संरचना होइन, यो छिटो छरितो सेवा र प्रभावकारी प्रशासनको पहिचान बन्नुपर्छ। नगरपालिकाले जनतालाई समर्पित भावनाबाट सेवा प्रवाह गर्ने दिशामा काम गर्छ भन्नेमा म आशावादी छु।”

प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले पनि सेवाको गुणस्तर र भवनको भव्यताको समिकरणमा जोड दिंदै भने,
“भवन ठूलो छ, सेवा पनि त्यत्तिकै ठूलो हुनुपर्छ। अबको विकास नगर सरकारको इच्छाशक्तिमा निर्भर छ।”

सांसद सोबिता गौतमप्रतिमा गौतमले नयाँ भवनले नयाँ सोच, नयाँ प्रक्रिया र जनमुखी सेवा प्रवाहको ढोका खोल्ने विश्वास व्यक्त गर्दै,
“अब केही भएन भन्ने निराशावादी दृष्टिकोणलाई चिर्दै अगाडि बढ्नुपर्छ,” भनी आह्वान गर्नुभयो।

नगर प्रमुख उपेन्द्र कार्कीले सबै तहका सहकार्यदाताको योगदानमा कृतज्ञता व्यक्त गर्दै भने,
“यस भवनमार्फत हामी प्रशासनिक प्रक्रियालाई चुस्त, दुरुस्त र जनमैत्री बनाउनेछौं। जनताको शिक्षा, स्वास्थ्य, पानी र रोजगारीलाई प्राथमिकतामा राखेर योजनाबद्ध तरिकाले अघि बढ्छौं।”

प्रमुख प्रशासकीय अधिकृत हरिराम नगिलाले भवनको महत्वप्रति विशेष जोड दिँदै भने,
“यो भवन केवल भौतिक संरचना होइन, यो हाम्रो उत्तरदायित्व र पारदर्शी शासनको प्रतिविम्ब हो। यो नगरबासीको आस्था, आशा र सेवाको केन्द्र हो।”

यस ७ तले भवनको निर्माण कार्य २०७७ पुस २४ गते शिलान्यासबाट सुरु गरिएको थियो। करिब ३९ करोड ५४ लाख ६३ हजार रुपैयाँको लागतमा, करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको यो भवन अब कागेश्वरी मनोहरा नगरबासीको आकांक्षालाई मूर्त रुप दिने केन्द्र बन्दैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय