
आइरन फोलिक एसिड खुवाउने कार्यक्रमले विद्यालय जाने र नजाने सबै किशोरीहरूलाई लक्षित गर्नुपर्ने छ ।सन् २०११ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाए अनुसार शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा रक्तअल्पताको प्रकोप बढी भएकोले कार्यक्रमको शुरुवातमा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिनुपर्ने हुन्छ । किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाउने कार्यक्रम स्वास्थ्य मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयवीचको सहकार्यमा कार्यान्वयन भैरहेको राष्ट्रिय विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका विभिन्न कार्यहरू मध्ये एक हो । तसर्थ, किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाउने कार्यक्रम देहायका रणनीति सहित कार्यान्वयन गरिनेछ |
विद्यालय जाने किशोरीहरूलाई लागि विद्यालयहरूमार्फत खुवाउने, विद्यालय नजाने किशोरीहरूलाई स्वास्थ्य केन्द्र तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरमै खुवाउने, विद्यालय जाने किशोरीहरूद्वारा विद्यालय नजाने किशोरीहरूलाई दौतरी शिक्षामार्फत आइरन फोलिक एसिड खानुपर्ने आवश्यकता वारे परामर्श दिने गरिने छ ।


लक्षित समूहहरु १० देखि १९ वर्षसम्मका सबै किशोरीहरू रहेका छन् | सार्वजनिक/निजी विद्यालयहरूमा भर्ना भएका ६ देखि १२ कक्षा (ढिलो भर्ना भएको भए साना कक्षाका पनि हुन सक्छन्) का किशोरीहरू । विद्यालय नजाने किशोरीहरू हुन् |