फागुन २ र ३ गते बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला हुने, सम्पूर्ण तयारी पूरा

२०८१ फाल्गुन १, बिहीबार ०६:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं । २०७८ सालदेखि शृङखलाबद्ध रुपमा वृत्ति मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी शिक्षा, सिप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता भन्ने नारासहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको नगरपालिकाले जनाएको हो । नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।

तेस्रो वृत्ति मेलासम्मको प्रगति समीक्षा

नगरपालिकाले समीक्षा गर्दै पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको जनाएको छ । नगरपालिकाकाअनुसार यस अवधिका तीन ओटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो । तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलन समेत गरिएको थियो। माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसै गरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौंको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ। यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको नगरपालिकाले जनाएको छ।

चौथो रोजगार तथा वृत्ति मेलाको तयारी

यस पूर्वका वृत्ति तथा रोजगार मेलाको सफलताबाट उद्वेलित बुढानीलकण्ठ नगरपालिकाले चौथो रोजगार तथा वृत्ति मेलालाई अझ विशेष बनाउन नगर प्रमुख मिठाराम अधिकारी संयोजक र उपप्रमुख अनिता लामा सहसंयोजक रहने गरी मूल आयोजक समिति गठन गरेर तयारी कार्यक्रम अघि बढाएको जनाएको छ । मूल आयोजक समितिमा नगरस्तरीय उद्योग वाणिज्य संघका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेत समावेश गरिएको छ । निजी क्षेत्रलाई मेलामा स्वःस्फूर्त सहभागिता गराउन विभिन्न चरणमा छलफल गराउनुको साथै उद्यम तथा व्यवसायको घरदैलोमा गई मेलामा सहभागीताका लागि प्रोत्साहन गरिएको नगरपालिकाले जनाएको छ ।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टलमध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहने छन् । यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

मेलालाई पूर्णरुपमा सफल बनाउन विभिन्न उपसिमिति गठन गरी क्रियाशील बनाइनुका साथै नगरपालिकाभित्रका बेरोजगार युवाहरुलाई यस मेलामार्फत दिगो रोजगारीमा जोड्ने अभिष्ट राखी बेरोजगार युवाहरुको तथ्याङक सङकलन कार्यलाई समेत यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाले स्पष्ट पारेको छ । यस नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवालाई यही माघ मसान्तभित्र अनलाइनमार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आह्वान गरेको छ। यस रोजगार तथा वृत्ति मेलामा बुढानीलकण्ठ नगरपालिकामा दर्ता रहेका दश हजार व्यावसायिक फर्महरुलाई मेलामा आमन्त्रण गरिएको छ । मेलामा कम्तीमा १०० जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने, २०० जनालाई इन्टर्नका लागि तयार गर्ने, १५० जनाका लागि साइकोमेट्रिक टेष्ट, औद्योगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थीका अभिभावकलाई समेत करियरसम्बन्धी काउन्सेलिङ, १०० जना युवालाई सिंगल काउन्सेलिङ, ४०० जना युवाहरुलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखिएको छ ।

नगरपालिकाको परिसरमा यही फागुन २ गते बिहान ९ः०० बजे सुुरु हुने मेला नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले समुदघाटन गर्ने र सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, खानेपानी, उर्जा तथा सिचाइ मन्त्री श्याम बहादुर खड्का, बागमती प्रदेश सभाका सदस्य जयराम थापा र मिना पराजुली लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

यसका साथै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र काठमाडौं, उपत्यकाका सबै पालिका प्रमुख÷उपप्रमुख ÷ शिक्षा विभाग÷महाशाखा÷शाखा प्रमुख लगायतलाई कार्यक्रममा आमन्त्रण गरिएको छ। बुढानीलकण्ठ नगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा बागमती प्रदेशको शैक्षिक तालिम केन्द्र, धुलिखेलको आर्थिक सहयोग र हेल्भिटास इन्स्योर परियोजनाको प्राविधिक सहयोग रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार