
सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले एसोसीओ अवार्ड प्राप्त गरेको छ ।
एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) को आयोजनामा दक्षिण कोरियाको सियोलमा नोभेम्बर १३ देखि १५ सम्म भएको ‘एसोसीओ डिजिटल शिखर सम्मेलन २०२३’ मा ब्रोडवे इन्फोसिसलाई एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एसोसीओ एडटेक अवार्ड’ प्रदान गरिएको हो । व्यावसायिक आईटी तालिममार्फत शिक्षा तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएकाे भन्दै ब्रोडवे इन्फोसिसले याे अवार्ड पाएकाे हाे ।


एसोसीओका अध्यक्ष ब्रायन शेनले ब्रोडवेका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीलाई अवार्ड प्रदान गर्नुभएको हो । अवार्ड प्रदान कार्यक्रममा एसोसीओका उपाध्यक्ष नवराज कुँवरसहित संस्थाका विशिष्ट अधिकारी र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) का अध्यक्ष रञ्जित पोद्दारसमेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सलाई डिजिटल ट्रान्सफर्मेशन अवार्डले सम्मान गरिएको थियो । एसोसीओले हरेक वर्ष आफ्ना हरेक सदस्य देशका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ ।