
कास्कीको अन्नपूर्ण गाउँपालिकाले ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ । भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखिएको अन्नपूर्णको बजेटको धेरै रकम सडक निर्माणमै हालिएको छ ।
चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँको बजेट उपाध्यक्ष चन्द्रकला अधिकारीले आइतबार १४ औं गाउँ सभामा प्रस्तुत गरेकी हुन् । चालू आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आगामी वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको हो ।


गाउँपालिकाका सबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडकहरुलाई बाह्रै महिना सञ्चालनमा ल्याई सडक पँहुच स्थापित गर्ने बजेटमा उल्लेख छ । अन्नपूर्ण गाउँपालिकाको चक्रपथ निर्माण र अन्य सडक निर्माण एवं स्तरोन्नति गर्न समपूरक अनुदानसहित विशेष प्राथमिकताका साथ ३ करोड ५० लाख बजेट विनियोजन भएको उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् ।
सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास उर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।