
निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार गरिदैँ छ । त्यसका लागि ३६ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । कुल १५.५ किमि सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का भएको छ ।
८.४ किलोमिटर दूरी रहेको उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । उक्त खण्डको ठेक्का सम्झौता २०७९ मंसिर २७ मा भएको हो । ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।


सूर्यविनायक–साँगा खण्डको दूरी भने ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले २०७९ पुस २४ गते लिएको हो । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको छ । ‘यी दुवै खण्डको काम ठेक्का सम्झौता भएको मितिबाट ३६ महिनाभित्र सकिसक्नु पर्नेछ,’ प्रवक्ता अधिकारीले भने, ‘सवारी आवामगमन नरोकी काम गरिनेछ ।’ यो खण्डमा दैनिक सवारी चाप हुन्छ ।
साँघुरो सडकका कारण ट्राफिक जाम बढेपछि यो सडकलाई विस्तार गर्न लागिएको हो । ‘यो सडकमा सवारी चाप बढ्दो छ,’ उनले भने, ‘बढी ट्राफिक जाम साँगा खण्डमै हुने गरेको छ । सडक विस्तार भएपछि यो समस्या समाधान हुने अपेक्षा छ ।’ बीपी राजमार्ग सञ्चालनमा आएपछि यो खण्डमा सवारी चाप बढेको हो । कोटेश्वर ट्राफिक प्रहरीका अनुसार कोटेश्वरबाट लामा दुरीका सवारी मात्र दैनिक १ हजार बढी छुट्ने गरेका छन् ।Source:Kantipur