मैले धेरै वर्षदेखि प्रारम्भिक बाल विकास (Early Childhood Education and Development – ECED) को क्षेत्रमा काम गरिरहेकी छु। शिक्षकको रूपमा सुरु गरेको यो यात्रामा मैले नानीहरूको हाँसो, प्रश्न, जिज्ञासा, डर र कल्पनाबाट धेरै सिकें। उनीहरूका साना पाइलाहरू र ठूला सपना मेरो सिकाइका मेरुदण्ड बने। विद्यालयको कक्षाकोठाबाट सुरु भएको मेरो यो अनुभव अहिले अभिभावक, शिक्षक, नीति-निर्माता र समुदायसँग संवाद गर्ने अभियानमा रूपान्तरण भएको छ। अहिले म काठमाण्डौ विश्वविद्यालयको एमफिल प्रारम्भिक बाल शिक्षा विषय अध्ययनरत छु। यो अध्ययन मेरो विगतका अनुभवलाई शैक्षिक सोच, अनुसन्धान र व्यवहारिक अभ्याससँग जोड्ने प्रयास हो।



शिशु हरेक घरको उज्यालो र हाम्रा भोलिका आधार हुन्। प्रारम्भिक बाल विकासको यो संवेदनशील र महत्वपूर्ण चरणमा उनीहरूलाई सशक्त, संवेदनशील र सिर्जनशील बनाउने जिम्मेवारी हामी सबैको साझा हो । अभिभावकको माया, शिक्षकको मार्गदर्शन र समुदायको साथ विनाकुनै पनि बालबालिका पूर्ण रूपमा फस्टाउन सक्दैन। बालबालिकाको सिकाइ केवल किताब, कक्षा वा पाठ्यक्रमले मात्र सीमित हुँदैन। उनीहरूले घरमा आमा–बुबासँग गफ गरेर, विद्यालयमा साथीहरूसँग खेलेर र समुदायमा बुवा–हजुरआमाबाट परम्परा र संस्कार सिकेर आफूलाई बनाउँछन्। त्यसैले हामीले तीनवटै पक्ष घर, विद्यालय र समुदाय बीचको सहकार्यलाई बलियो बनाउन आवश्यक छ।
मलाई लाग्छ ० देखि ८ वर्षको समय कुनै पनि व्यक्तिको जीवनको जग बसाल्ने “सुनको समय” हो। यस अवधिमा बालबालिकाले पाउने अनुभव, माया, सम्मान र अवसरले उनीहरूको आत्मबल, सामाजिक सम्बन्ध र सोचको संरचना निर्माण गर्छ। सबैभन्दा पहिले, तपाईंले आफ्ना सन्तानको भविष्यको लागि गरिरहनुभएको माया, मेहनत र समर्पणप्रति हार्दिक धन्यवाद। आजको यो पत्रमार्फत तपाईंहरूसँग एउटा महत्वपूर्ण सन्देश बाँड्न चाहन्छु । बालबालिकाले बिताउने “गुणस्तरीय समय” को गहिरो महत्वबारे।
आजको व्यस्त जीवनशैलीमा हामी प्रायः यस्तो सोच्ने गर्छौं । राम्रो खाना खुवायौं, राम्रो लुगा लगाइदियौं, कहिलेकाहीं होटल, रेस्टुरेन्ट वा किनमेल लैजानु नै सन्तानको माया र हेरचाह हो। तर बालबालिकालाई चाहिने सबैभन्दा आवश्यक कुरा भनेको हाम्रो साथ, हाम्रो समय, र हाम्रो मनोयोग हो। गुणस्तरीय समय भन्नाले केवलसँगै बसेर फोन वा टीभी हेर्ने समय होइन। यो भन्नाले हो उनीहरूको कुरा सुन्ने, सँगै खेल्ने, उनीहरूको भावना बुझ्ने, सँगै हाँस्ने, गफ गर्ने र केही जीवनोपयोगी कुरा सिकाउने।
बालबालिकालाई हामीले केवल किताबमा पढ्न हैन, जीवन देख्न र बुझ्न सघाउनुपर्छ। त्यसैले हामीले उनीहरूलाई घर वरिपरि पाइने बोटबिरुवा, रूख, फूल, चराचुरुङ्गी, बारीको कामजस्ता कुराहरू देखाउन आवश्यक छ। कहिलेकाहीं मन्दिर, गुम्बा, मस्जिद, वा चर्च लैजानुहोस्, जसबाट उनीहरूले आस्था र विविधता बुझ्न सकून्। त्यस्तै, स्थानीय मेला, चाडपर्व, परम्परा र भाषाजस्ता सांस्कृतिक पक्षहरूसँग परिचित गराउनुहोस्, जसले उनीहरूलाई आफ्नै पहिचानप्रति गर्व गर्न सिकाउँछ। साथै, समाजका विभिन्न पेशा जस्तै किसान, दर्जी, साईकल मिस्त्री, शिक्षक आदिको काम देखाउनुहोस्, जसले बच्चालाई सबै पेशाप्रति सम्मान गर्न सिकाउँछ।
अझ सरल भाषामा भन्नुपर्दा, बच्चाले हाम्रासँग बिताएको रमाइलो, मायालु र अर्थपूर्ण समय नै उसको बचपनको स्मृति र आत्मबल बन्न जान्छ। अहिले धेरै बच्चाहरू एक्लोपन, तनाव, मोबाइल र टीभीको दुनियाँमा हराउँदै छन्। उनीहरूलाई मोबाइल होइन, माया र मन दिने संसार चाहिन्छ। त्यसैले दिनको केही समय कम्तीमा ३० मिनेट भए पनि फोन बन्द गरेर, आँखामा आँखा मिलाएर, सँगै समय बिताऔं। उनीहरूले जिज्ञासा राख्दा झर्किने होइन, मुस्कानसहित जवाफ दिऔं। यदि हामी व्यस्त छौं भने पनि भोलिको केही समय उनीहरूको लागि छुट्याऔं।
हामी हरेक दिन बच्चाको जीवनमा उपस्थित छौं भने, उनीहरू भविष्यमा सशक्त, समझदार र संवेदनशील नागरिक बन्छन्। हामीले आज दिएको समय नै उनीहरूको भोलिको जीवनको आधार हो। हामी तपाईंहरू जस्तै सचेत र समर्पित अभिभावकहरूसँग सहकार्य गर्न पाउँदा गर्व गर्छौं। सधैं तपाईंको साथ, सल्लाह र सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।
• बालबालिका “देखेर” सिक्छन्, “भोगेर” बुझ्छन्
• अभिभावक र समुदायको उपस्थितिको प्रभाव
• “महँगो” सामग्री होइन, “मनपर्ने” सामग्री आवश्यक
• हाम्रो भाषा, हाम्रो शैली नै शक्तिशाली साधन
• बालबालिकालाई निर्णयमा बोल्ने अधिकार दिनुपर्छ
• ‘खेल’ भनेको केवल रमाइलो होइन—जीवनशैली हो
• शिक्षकहरूका लागि सन्देश: शिक्षकमात्र होइन, श्रोता पनि बनौं
• ० देखि ८ वर्ष: आधार बनाउने उमेर
बालबालिकाको समग्र विकासका लागि सस्तो र निःशुल्क सामग्री प्रयोग गरौं:
शारीरिक, संवेगात्मक, सामाजिक, बौद्धिक र भाषिक विकासका लागि बालमैत्री सामग्री आवश्यक छ। यसको अर्थ महँगो सामग्री वा आयातित उपकरण होइन। घर वरपर पाइने सस्तो र निःशुल्क सामग्री—जस्तै माटो, ढुंगा, सिस्नुका पात, झारपात, काठ, कपडा, बोतल, चामल, मकै, गुन्द्रुक—यीनै उत्कृष्ट स्रोत हुन्।
अभिभावक र शिक्षकलाई जागरूक गराउनु आवश्यक छ, किनभने:
✔ धारणापरिवर्तन हुनुपर्छ — “महँगो नै राम्रो” होइन, “रुचि र सिर्जनशीलता” हेरेर सामग्री चयन गरौं।
✔ घरमै सम्भव सामग्रीको प्रयोग सिकाऔं।
✔ शिक्षकलाई प्रयोगात्मक अभ्यास गराऔं।
✔ जागरूकता फैलाउने उपायहरू:
-
कार्यशाला तथा प्रशिक्षण
-
घरमै बनाउने खेलौना प्रतियोगिता
-
उदाहरणसहित अभिभावक बैठक
-
स्थानीय भाषामा पोस्टर/पुस्तिका
-
विद्यालयको खुला कक्षा मार्फत सामग्री प्रदर्शन
निष्कर्षमा:
“आजका बच्चामा लगानी गर्नु भनेको भोलिको राष्ट्र निर्माण गर्नु हो।”
यदि अभिभावक, शिक्षक र समुदाय आजै सँगै बसेर बच्चाको आवाज सुन्छन्, सस्तो तर सार्थक अवसर सिर्जना गर्छन् भने भोलिको पुस्ता मूल्यवान, जिम्मेवार र सशक्त नागरिक बन्नेछ।
लेखिका मुना दाहाल काठमाडौँ विश्वविद्यालयकी एमफिल स्कलर-2025, प्रारम्भिक बाल शिक्षा (ECD) की शिक्षाविद् हुनुहुन्छ। उहाँ किड्स गार्डेन प्रि–स्कुल, दुगाकोट, भक्तपुर की संस्थापक प्राचार्य समेत हुनुहुन्छ।




