
सफ्टवेयर कम्पनी ओराकलका संस्थापक लेरी एलिसन विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको चर्चासँगै कम्पनीकाे शेयर बढ्दा जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै एलिसन तेस्रो धनी व्यक्ति बनेका हुन् ।
फोर्ब्स म्यागजिनका अनुसार आज (सोमबार) एलिसनको कूल सम्पत्ति १५६.२ अर्ब अमेरिकी डलर छ । दोस्रो स्थानमा रहेका लुई भितनका मालिक बर्नाड अर्नल्टको सम्पत्ति २३३.७ अर्ब अमेरिकी डलर रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेका ट्वीटर, स्पेसएक्स तथा टेस्लाका मालिक एलन मस्कको सम्पत्ति २३६.९ अर्ब डलर छ ।


एलिसनले बिल गेट्स र जेफ बेजसलाई पछि पारेको यो पटक हो । उनले सन् २०१४ मै ओराकलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले कम्पनी छोडेका थिएनन् । पछि सो कम्पनीको अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) बनेका उनको अधिकांश सम्पत्ति ओराकलकै स्टकमा निर्भर छ ।
यो वर्ष एआईको चर्चासँगै ओराकलको स्टक मूल्य ४२ प्रतिशतले बढेको छ । गत मंगलबार ओराकलले सार्वजनिक गरेको रिपोर्टमा कम्पनीले २०२३ को आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी अर्थात् ५० अर्ब डलर आम्दानी गरेको उल्लेख छ । अहिले यस कम्पनीको प्रमुख लगानी एआईमा छ ।
कम्पनीले ओपनएआईको प्रतिद्वन्द्वी कोहिरमा दुई करोड ७० लाख डलर लगानी गरेको रिपोर्टमा उल्लेख छ । विश्वकै तेस्रो धनी व्यक्ति एलिसनको ओराकलमा ४२.९ प्रतिशत स्टक रहेको छ । त्यस्तै उनी टेस्लाको पनि १.५ प्रतिशत स्टकका मालिक हुन् ।
ओराकल विश्वकै ठूलो सफ्टवेयर कम्पनीमध्येको एक हो, जसले कर्पोरेट हाउसलाई विभिन्न किसिमका सफ्टवेयर उपलब्ध गराउने गर्छ । सन् १९७७ मा एलिसन, बब माइनर र ईडी ओएट्सले डेटाबेस बिक्री गर्न व्यवसाय सुरु गरेका थिए, जसलाई उनीहरूले ओराकल डेटाबेस नाम दिए । त्यसको पाँच वर्षपछि सफ्टवेयर बिजनेसमा प्रवेश गरिसकेपछि उनीहरूले कम्पनीको नाम ओराकल राखेका थिए ।