
दुई ठूला व्यवसायीक घरानाको साझेदारीमा सञ्चालित मोरङको प्रिमियर स्टिल उद्योगले स्टिल बिलेट उत्पादन सुरु गरेको छ । प्रिमियर स्टिलमा शारडा ग्रुप र राठी ग्रुपको लगानी रहेको छ ।
प्लान्ट लगाउन सुरु गरेको १४ महिनामै उद्योगले आफ्नै फर्नेस प्लान्ट (मेल्टिङ युनिट)बाट बिलेट उत्पादन सुरु गरेको हो । ९ माघदेखि उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । फर्नेस प्लान्टबाट दैनिक बिलेट उत्पादन क्षमता पाँच सय मेट्रिकटन रहेको छ ।


बिलेट उद्योगमा करिव साढे दुई अर्ब लगानी रहेको छ । यसअघि रोलिङ मिल (डन्डी उत्पादन)मा डेढ अर्ब लगानी भएको थियो । उद्योगको रोलिङ मिल र फर्नेस प्लान्टमा गरी कुल चार अर्ब लगानी पुगेको छ ।
अब प्रिमियर स्टिलबाट बिलेट, टीएमटी छड र स्क्वायर रडको उत्पादन हुने बताइएको छ । २०७४ पुसदेखि व्यवसायिक उत्पादन सुरु गरेको प्रिमियर स्टिल उद्योगको दैनिक टीएमटी छड उत्पादन क्षमता ८ सय मेट्रिक टन रहेको छ ।
एक दर्जन बिलेट उद्योग
प्रिमियर स्टिलसहित देशमा बिलेट उत्पादन गर्ने उद्योगको संख्या एक दर्जन पुगेको छ ।
सर्वोत्तम स्टिल, पशुपति आइरन, लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल (भैरहवा), जयअम्बे स्टिल (नेपालगञ्ज) अशोक स्टिल, नारायणी स्टिल, हाइटेक स्टिललगायत उद्योगले देशभित्रै बिलेट उत्पादन गरिरहेका छन् ।
यी उद्योगले कच्चा पदार्थ आइरन ओर, पिग आइरन, फलामको स्क्र्याप ल्याएर स्वदेशमै बिलेट उत्पादन गरिरहेका छन् ।
यी उद्योगमा करिव २४ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको नेपाल स्टिल बिलेट उत्पादक संघले जनाएको छ ।
सरकारले स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरेपछि धमाधम बिलेट उत्पादन गर्ने उद्योगहरु खुल्न थालेका हुन् ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत देशभित्र बिलेट उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ (स्पन्ज आइरन) आयातमा भन्सार शून्य गरिदिएका थिए । यस्तै, स्वदेशमा उत्पादित बिलेट तथा फलामजन्य वस्तुमा अन्तःशुल्कसमेत खारेज गरिदिए ।
तर, आयातीत बिलेटमा भने अन्तःशुल्क बढाएर प्रतिकिलो दुई रुपैयाँ ५० पैसा पु¥याए । बिलेट आयात ५ प्रतिशत भन्सारदर पनि यथावत् छ । प्रतिस्थापन विधेयक आउनुभन्दा अघिसम्म बिलेट र स्पन्ज आइरनमा समान ५ प्रतिशत भन्सार दर थियो । साथै, आयातीत र स्वदेशमा उत्पादित दुवै बिलेटमा समान एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्ने गथ्र्यो । सरकारले अहिले भन्सार स्रोतमै अन्तःशुल्क तिनुपर्ने व्यवस्था पनि गरेको छ ।
अझै लक्ष्मी स्टिलले बिलेट उद्योगको क्षमता विस्तार गर्दैछ । श्री स्टिलले भैरहवामा बिलेट उद्योग सञ्चालनमा ल्याउँदै छ भने जगदम्बा इन्टरप्राइजेज, समृद्धि मेटालिक्स, स्वस्तिक रोलिङ मिल, हुलास वायर र हिमाल स्टिलले पनि बिलेट उद्योग सञ्चालनमा ल्याउँदै छन् ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमै तीनवटा फर्नेस प्लान्ट पुगेका छन् । हुलास वायरले केही महिनाभित्रै फर्नेस प्लान्ट सञ्चालनमा ल्याउँदैछ । अहिले त्यस क्षेत्रमा प्रिमियर स्टिल, पशुपति आइरन, स्वस्तिक रोलिङ मिलले फर्नेस प्लान्ट सञ्चालनमा ल्याइसकेका छन् ।
भैरहवामा लक्ष्मी स्टिल, अम्बे स्टिल, श्री स्टिललगायतले फर्नेस प्लान्ट लगाएर बिलेट उत्पादन गरिरहेका छन् ।