
नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिस लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायतमा लगानी सम्मेलन आयोजना गरिएको छ । सन् १९२३ डिसेम्बर २१ मा नेपाल र बेलायतबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर पारेर लगानी सम्मेलन आयोजना गरिएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टसमेतको सहयोगमा लगानी सम्मेलन आयोजना गरिएको हो ।
सिटी अफ लन्डनको मेनसिन हाउसमा अक्टोबर ३१ (कात्तिक १४ गते मंगलबार) हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी छन् । नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधि मण्डलले नेपालको जलविद्युतलगायत नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ । सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ता, सम्बन्धित सरकारी निकाय एवं संस्थागत वित्तीय स्रोत उपलब्ध गराउने संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

