दशकपछि बृहत धौलिगाड खानेपानी आयोजना निर्माण हुँदै

२०७९ चैत्र ७, मंगलवार ११:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

जुम्लामा निर्माणाधीन गौरवको ‘धौलिगाड खानेपानी आयोजना’ निर्माणले गति लिएको छ । निर्माण थालनी भएको दशकबढी समयपछि चालू आर्थिक वर्षबाट आयोजनाको निर्माण कार्यले गति लिएको हो ।

२०६७ सालयता आयोजना निर्माणको प्रारम्भ भएको थियो । विभिन्न तदर्थ समिति गठन गरे पनि विगतका वर्षमा निर्माण कार्यले गति लिन सकेको थिएन । मुलुककै सबैभन्दा बढी हाइअल्टिच्युटमा निर्माण हुन लागेकाले धौलिगाड आयोजनालाई सरकारले राष्ट्रिय महत्वको आयोजनाका रूपमा लिएको छ । दुई प्याकेजमा निर्माण भइरहेको आयोजनाको पछिल्लो भौतिक प्रगति सन्तोषजनक छ ।

संघीय खानेपानी आयोजनाका प्रमुख दिपेन्द्रप्रसाद भट्ट भन्छन्, “प्याकेज–१ को नौ प्रतिशत र प्याकेज–२ को १७ प्रतिशत भौतिक प्रगति भएको छ । पहिलो प्याकेजमा मुहानको इन्टेकदेखि विभिन्न स्थानमा १३ वटा आरबीटी ट्ंयाकी निर्माणको काम भइरहेको छ भने दोस्रो प्याकेजमा आरबीटी ट्ंयाकीदेखि घरको धारासम्म २ सय किलोमिटर पाइपलाइन बिछ्याउने काम भइरहेको छ ।”

हाल गुठिचौर, चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालय जाने क्षेत्र, महतगाउँलगायतका क्षेत्रमा पाइपलाइन विछ्याउने कार्य जारी छ । चालू आवमा २५ देखि ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख भट्टको दाबी छ । आयोजनाबाट जुम्लाका तीन स्थानीय तहका साढे ८ हजारबढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

पहिलो प्याकेजको निर्माणकार्य ३६ महिनामा सम्पन्न गर्नेगरी (एमएस कालिका क्याभ कनकाई जेभी)संँग ठेक्का सम्झौता भएको छ भने दोस्रो प्याकेजको काम ३० महिनामा सक्नेगरी (एमएस क्याभ निर्माण कम्पन्नी) ठेक्का सम्झौता भएको छ । साथै पहिलो प्याकेजको लागत ५४ करोड ४१ लख ५४ हजार रहेको छ भने दोस्रो प्याकेजको लागत ३७ करोड सात लाख पाँच हजार रहेको आयोजना प्रमुख दिपेन्द्रप्रसाद भट्टले जानकारी दिए । बजेट अभाव नभएको खण्डमा निर्धारित समय अगाडि नै काम सम्पन्न भई घरघरमा धारा पुग्ने उनको दाबी छ ।

८ हजार धारा, ४४ हजार नागरिक लाभान्वित

बृहत धौलिगाड खानेपानी आयोजनाबाट जुम्लाका तीन स्थानीय तहका ४४ हजारबढी नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यहाँका चन्दननाथ नगरपालिकासहित तातोपानी र गुठिचौर गाउँपालिका १९ वटा वडाका ४४ हजार १६३ जना नागरिक आयोजना प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख भट्टले उल्लेख गरे ।

उनका अनुसार तीन पालिकाका चन्दननाथका १० वटै वडा, तातोपानीका १ देखि ६ वडा र गुठिचौरका ३, ४ र ६ नम्बर वडाका ८ हजार ३ सय ९५ घरधुरीका लागि ८ हजार ३९५ नै धारा निर्माण हुनेछन् । आयोजना निर्माणका लागि चन्दननाथले ५० लाख र गुठिचौर र तातोपानीले १÷१ करोड सेयर लगानीसमेत गरेका छन् । त्यस्तै, मुहानदेखि विभिन्न ट्यांकीसम्म पहिलो प्याकेजमा ६९ किमी पाइपलाइने बिछ्याइने छ ।

पानी शुद्धीकरण गर्ने (क्लोरिनेसन युनिट १३ वटा, पानी सन्तुलन गर्ने डिसि उपकरण नौवटा, आईसी १७ वटा जडान गरिने भएको छ । १ सयदेखि ६ सय घनमिटर क्षामताका १३ वटा ट्यांकी निर्माण हुनेछन् । पानीको मुहान भएको ठाउँमा आठै महिनामा हिउँ जम्ने भएकाले उच्च प्रविधिको पाइप प्रयोग गरी अन्डरग्राउन्ड इन्टेकसमेत निर्माण गरिँदै छ । जसले गर्दा हिउँदमा हिउँ जमेर पानी नआउने समस्या हुने छैन ।

प्राविधिक जनशक्ति अभावले समस्या

मुहानदेखि धारासम्मको दूरी र हाइअल्टिच्युटमा निर्माण हुन लागेको हिसाबले धौलिगाड आयोजनालाई मुलुककै गौरवका आयोजनाका रूपमा हेरिएको छ । तर मुलुककै गौरवको आयोजना जनशक्ति अभावकैबीच अघि बढिरहेको छ । ५ जना इन्जिनियरको दरबन्दी रहेकोमा पाँचजना रिक्त छ भने ६ जना सबइन्जिनियर दरबन्दी रहेकोमा पाँचजना करारमा मात्रै सबइन्जिनियर रहेका छन् ।

पर्याप्त प्राविधिक जनशक्ति नभई नहुने आयोजनामा स्थायी दरबन्दीका कर्मचारी नहुँदा काममा समस्या भएको छ । भौगोलिक विकटता, मौसमी प्रतिकूलता, हिउँदको तीन महिना कामै गर्न नमिल्ने चुनौतीका बीच जनशक्ति अभाव आयोजना निर्माणको मुख्य चुनौती रहेको आयोजना प्रमुख भट्टले बताए । आयोजना प्रमुख, प्राविधिक जनशक्ति, प्रशासन लेखालगायत गरी करिब १७ जनाको दरबन्दी रहेकोमा हाल स्थायी कर्मचारी तीनजना मात्रै रहेको आयोजनाले जनाएको छ ।

जुम्ली नागरिक धौलिगाड खानेपानी आयोजनाको पानी कहिले आउला भन्ने प्रतीक्षामा छन् । पछिल्लो समय आयोजना निर्माणले गति लिएको सुन्दा खुसी लागेको छ । स्थानीय पूर्णप्रसाद चौलागाईं भन्छन्, “अब ढिलै भए पनि घरघरमा पानी पुग्ने आशा पलाएको छ । दोस्रो मेलम्ची भनिने आयोजनाले अब दु्रत गति लिने विश्वास छ । आयोजना निर्माण पश्चात जुम्ली नागरिकका खानेपानी समस्याले मुक्ति पाउनेछन् ।”Source:karobar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय