अस्ट्रेलियामा ५ वर्ष पढ्दा पनि काम नपाएपछि खोलियो ‘एक्स्ट्राटेक’ – विनोद कुँवर : अब बन्न थालेको छ विद्यार्थीहरूको भरोसा

२०८२ जेष्ठ २९, बुधबार ०३:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ।
कम्प्युटर इन्जिनियरिङमा स्नातक र नेटवर्किङमा स्नातकोत्तर गरेपछि अस्ट्रेलिया गएका विनोद कुँवरले त्यहाँको घर सफा गर्ने (हाउसकिपिङ) काम गर्दै गर्दा सोच्थे – “कम्प्युटरको अगाडि बसेर काम गर्न पाए कति राम्रो हुन्थ्यो!” तर पाँच वर्षसम्म पनि आफ्नो अध्ययनअनुसारको जागिर नपाएपछि उनले अन्ततः ‘एक्स्ट्राटेक’ नामक कम्पनी खोले, जुन अहिले धेरै नेपाली विद्यार्थीहरूका लागि आशाको केन्द्र बनेको छ।

काम नपाएपछि जागिर खोज्नेहरूको सहारा

विनोद सन् २०१९ मा स्नातकोत्तर पढ्न अस्ट्रेलिया पुगेका थिए। तर त्यहाँ ४०० भन्दा बढी आईटी कम्पनीमा आवेदन दिए तापनि कतैबाट पनि सकारात्मक खबर आएन। यस्तो अवस्था देखेपछि उनी अस्ट्रेलिया छाडेर यूएई जाने सोचमा थिए। यत्तिकैमा एक दिन अस्ट्रेलियाकै एक आईटी कम्पनीबाट जागिरको अफर आयो। तर काम गर्न थालेपछि उनलाई त्यहाँ “नेपालीहरू पनि आईटीमा काम गर्न सक्छन्?” भन्ने दृष्टिकोणको सामना गर्नुपर्‍यो।

त्यसले उनलाई अझै थप प्रेरित गर्‍यो। उनले त्यो असहजतालाई अवसरमा बदल्दै नेपाली विद्यार्थीहरूलाई जागिर खोज्न सघाउने उदेश्यले ‘एक्स्ट्राटेक’ स्थापना गरे।

विश्वविद्यालय र बजारको खाडल पूर्ने संस्था

“विश्वविद्यालयले सैद्धान्तिक ज्ञान दिन्छ, तर कम्पनीले त काम गर्न सक्ने मान्छे खोज्छ,” कुँवर भन्छन्, “एक्स्ट्राटेक भनेको त्यो खाडल पूर्ने पुल हो।”

यहाँ तालिम लिने विद्यार्थीहरूलाई जागिर पाएको पहिलो दिनदेखि नै आत्मविश्वासका साथ काम गर्न सक्ने बनाउनेगरी कोर्स डिजाइन गरिएको छ। आईटीमा कुनै पनि पृष्ठभूमि भएका व्यक्तिले यहाँ तालिम लिन सक्छन् – चाहे नेपालमै काम गरेको होस्, विदेश जान खोजेको होस् वा आइटीको सामान्य जानकारी पनि नभएको होस्।

आठ महिना सम्मको तालिम, १९ सय बढी प्रशिक्षार्थी

एक्स्ट्राटेकले सुरुमा कुनै अनुभव नभएकालाई ८-१२ महिना, केही अध्ययन गरिसकेकालाई ३-४ महिना र अनुभव भएकालाई करिअर काउन्सिलिङसहित तालिम दिने गर्छ। क्लाउड, नेटवर्किङ, सिस्टम्स, साइबर सुरक्षा, डिजिटल मार्केटिङ, डेटा एनालिटिक्स, बिजनेस एनालिटिक्स र प्रोग्रामिङ जस्ता विषयमा तालिम दिइन्छ।

कुँवर आफैंले साइबर सुरक्षा, नेटवर्किङ र क्लाउड सम्बन्धी कक्षा लिन्छन्। साथै, रिजुम बनाउने, मक इन्टरभ्यु, प्रोफेसनल इमेल लेख्ने, ब्रान्डिङ र आत्मविश्वास विकासमा समेत सहयोग गरिन्छ।

हालसम्म १९०० भन्दा बढीले तालिम लिइसकेका छन्, जसमध्ये १५०० भन्दा बढीले रोजगारी पाइसकेका छन्।

अनलाइन तालिम र अन्तर्राष्ट्रिय पहुँच

हाल एक्स्ट्राटेकले सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ र क्यानबेरामा सेवा विस्तार गरिसकेको छ। साथै, अनलाइनमार्फत ३० भन्दा बढी देशका नेपालीहरूलाई तालिम दिइरहेको छ। १० भन्दा बढी देशका गैर-नेपालीहरू समेत एक्स्ट्राटेकका कोर्समा सहभागी छन्।

देशअनुसार शुल्क फरक फरक हुने गरेका छन् – अस्ट्रेलियामा २.५ लाख, अमेरिकामा २.७ लाख, क्यानडामा २ लाख, जापानमा १.७ लाख र मलेसिया/कतारमा ७०–८० हजार रुपैयाँ।

नेपालमै सुरु भयो एक्स्ट्राटेक

६ वर्षदेखि आईटीमा काम गरिरहेका कुँवरले नेपालमै पनि एक्स्ट्राटेक विस्तार गरेका छन्। १ वैशाखदेखि काठमाडौँ, सिनामङ्गलस्थित प्रयाग मार्गमा कार्यालय सुरु भइसकेको छ। यहाँ पनि अनलाइन तथा भौतिक तालिम उपलब्ध छ।

नेपालमा काम गर्ने तालिम २५ हजार रुपैयाँमा उपलब्ध छ, भने विदेश जान चाहनेको लागि शुल्क अलि महँगो पर्छ। हाल २० जनाभन्दा बढी नेपालीलाई एक्स्ट्राटेकले रोजगारी दिएको छ।

आईटी क्षेत्रको भविष्य र योजना

कुँवर भन्छन् – “नेपालमै बसेर धेरै आईटी कम्पनीहरूले आउटसोर्सिङका काम गरिरहेका छन्, त्यसका लागि प्रोग्रामिङ र डिजिटल मार्केटिङ उपयोगी छन्।” तर नेटवर्किङ, साइबर सुरक्षा र डेटा एनालिटिक्स क्षेत्रमा अझ मेहनत गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

उनको उद्देश्य भनेको नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको आईटी उत्पादन गर्नु हो। उनले दुई वर्षपछि नेपाल फर्किएर प्रयोगात्मक ज्ञानमा आधारित आईटी कलेज सुरु गर्ने योजना बनाएका छन्।

आईटी विकाससँगै रंगशाला निर्माण

रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेकको लगानीमा अन्तर्राष्ट्रिय स्तरको ओभल क्रिकेट रंगशालाको निर्माण भइरहेको छ, जसको आधाभन्दा बढी काम सकिएको छ।

विनोद कुँवरको कथाले देखाउँछ – इच्छा, धैर्य र लगनशीलता भए कुनै पनि चुनौतीलाई अवसरमा बदल्न सकिन्छ। ‘एक्स्ट्राटेक’ त्यसको उदाहरण हो, जुन आज हजारौँ विद्यार्थीको करिअरको सहारा बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय