
नेपालको विश्वविद्यालय तहको शिक्षा आज एक गम्भीर मोडमा उभिएको छ। विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने, अनुसन्धानलाई समाजसँग जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा राष्ट्रको बौद्धिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्ने संस्थाको रूपमा विकसित हुनुपर्ने हो। तर व्यवहारमा विश्वविद्यालयहरू अझै पनि सैद्धान्तिक ज्ञानलाई रटाउने, पुराना नोट र गाइडमा आधारित परीक्षा प्रणाली सञ्चालन गर्ने, र “कुन प्रश्न जाँचमा आउँछ?” भन्ने मानसिकतामा सीमित छन्। यस्तो परिपाटीले विश्वविद्यालयलाई विद्यालयस्तरीय घोकन्ते शिक्षाको विस्तारित संस्करण मात्र बनाएको छ।
विश्वविद्यालयीय शिक्षा मूलतः जिज्ञासा, अनुसन्धान, आलोचनात्मक चेतना र ज्ञान सिर्जनाको केन्द्र हुनुपर्छ। तर नेपालमा अधिकांश शैक्षिक अभ्यास “मेमोरी ड्रिभन” संरचनामा आधारित छन्, जहाँ विद्यार्थीको सिर्जनशीलता भन्दा उसको सम्झने क्षमता मूल्याङ्कन गरिन्छ। परीक्षा केन्द्रित पाठ्यक्रम, पुराना प्रश्नपत्रको विश्लेषण, गेसपेपर संस्कृति, र अंकमुखी प्रतिस्पर्धाले विद्यार्थीलाई ज्ञानको प्रयोगकर्ता होइन, केवल परीक्षार्थीमा सीमित बनाइदिएको छ। यस्तो प्रणालीले अनुसन्धानकर्ता, नवप्रवर्तक र उद्यमी उत्पादन गर्न सक्दैन।


अर्कोतर्फ, विश्वविद्यालयमा विकसित गरिएको अनुसन्धान संस्कृतिमा पनि गम्भीर प्रश्न उठेका छन्। आज धेरै अनुसन्धानहरू केवल जर्नलमा प्रकाशनका लागि गरिन्छन्; धेरै पिएचडी तथा शोधकार्यहरू समाज, उद्योग, प्रविधि वा आर्थिक रूपान्तरणसँग प्रत्यक्ष सम्बन्धित छैनन्। “डिग्री प्राप्ति” र “प्रकाशन संख्या” केन्द्रित शैक्षिक सोचले ज्ञानलाई व्यवहारिक रूपान्तरणमा लैजान सकेको छैन। यसले विश्वविद्यालयीय अनुसन्धानलाई वास्तविक सामाजिक आवश्यकता र राष्ट्रिय विकासका प्रश्नहरूबाट टाढा बनाएको छ।
अब विश्वविद्यालय शिक्षालाई पूर्ण रूपमा पुनर्संरचना गर्ने समय आएको छ। शिक्षा प्रणालीलाई “Learning for Examination” बाट “Learning for Innovation and Transformation” तर्फ रूपान्तरण गर्नुपर्छ। यसको मूल आधार परियोजनामुखी शिक्षा (Project-Based Learning), अनुसन्धानमा आधारित सिकाइ (Research-Based Learning), र “सिक्दै कमाउँदै” (Learning and Earning) को अवधारणा हुनुपर्छ। विद्यार्थीलाई केवल नोट घोकाएर परीक्षा दिन तयार पार्ने होइन, उसलाई वास्तविक समस्या पहिचान गर्ने, समाधान खोज्ने, अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, डिजिटल कन्टेन्ट सिर्जना गर्ने, स्टार्टअप विकास गर्ने र सामाजिक–आर्थिक अवसर सिर्जना गर्ने क्षमतासहित उत्पादन गर्नुपर्छ।
आज विश्वका उत्कृष्ट विश्वविद्यालयहरूले “क्लासरुम” भन्दा “इनोभेसन ल्याब”, “रिसर्च हब”, “स्टार्टअप इन्क्युबेसन सेन्टर” र “इन्डस्ट्री–युनिभर्सिटी सहकार्य” लाई प्राथमिकता दिएका छन्। विद्यार्थीलाई केवल सिद्धान्त पढाइँदैन; उनीहरूलाई प्रत्यक्ष परियोजना, फिल्डवर्क, अनुसन्धान, प्रोटोटाइप निर्माण, सामुदायिक समस्या समाधान र उद्यमशीलताको अभ्यासमा जोडिन्छ। यही कारण उनीहरूले विश्वविद्यालयमै अध्ययन गर्दा नयाँ कम्पनी स्थापना गर्छन्, प्रविधि विकास गर्छन्, र ज्ञानलाई आर्थिक मूल्यमा रूपान्तरण गर्छन्। नेपालका विश्वविद्यालयहरू पनि अब यस्तै दिशामा अग्रसर हुन आवश्यक छ।
यसका लागि शिक्षकको भूमिकामा पनि मौलिक परिवर्तन आवश्यक छ। विश्वविद्यालयका प्राध्यापक अब “ज्ञान सुनाउने व्यक्ति” भन्दा “मार्गदर्शक”, “सहजकर्ता” र “अनुसन्धान प्रेरक” बन्नुपर्छ। पुराना नोट र वर्षौंअघिका सामग्री घोकाउने परम्परा अन्त्य हुनुपर्छ। शिक्षकले विद्यार्थीलाई प्रश्न गर्न सिकाउनुपर्छ, नयाँ सोच विकसित गर्न प्रेरित गर्नुपर्छ, र अनुसन्धान तथा नवप्रवर्तनको संस्कृतिमा अभ्यस्त गराउनुपर्छ। विश्वविद्यालयको वास्तविक गुरु त्यही हो जसले विद्यार्थीभित्रको सम्भावनालाई जागृत गराउँछ, नकि केवल पाठ्यक्रम पूरा गराउँछ।
साथै विश्वविद्यालय र उद्योग, स्थानीय सरकार, निजी क्षेत्र तथा समुदायबीचको सम्बन्धलाई संस्थागत बनाउनु अत्यन्त आवश्यक छ। प्रत्येक विषयलाई समाज र अर्थतन्त्रसँग जोडिनुपर्छ। कृषि पढ्ने विद्यार्थीले आधुनिक कृषि उद्यम विकास गर्न सकून्, सूचना प्रविधि पढ्ने विद्यार्थीले डिजिटल समाधान निर्माण गर्न सकून्, समाजशास्त्र पढ्ने विद्यार्थीले सामाजिक अनुसन्धान र नीतिगत नवप्रवर्तन गर्न सकून्, व्यवस्थापन पढ्ने विद्यार्थीले आफ्नै स्टार्टअप सञ्चालन गर्न सकून्। विश्वविद्यालयले जागिर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने युवाशक्ति उत्पादन गर्नुपर्छ।
यस सन्दर्भमा नेपालमा एक उच्चस्तरीय “विश्वविद्यालय पुनर्संरचना आयोग” गठन गर्नु अपरिहार्य देखिन्छ। यस्तो आयोगले विश्वविद्यालयको पाठ्यक्रम, मूल्याङ्कन प्रणाली, अनुसन्धान संरचना, शिक्षकको भूमिका, उद्योग–शिक्षा सम्बन्ध, उद्यमशीलता विकास, डिजिटल शिक्षा, तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणका लागि आवश्यक दीर्घकालीन नीतिगत सुधारहरूको खाका तयार गर्नुपर्छ। आयोगको उद्देश्य केवल प्रशासनिक सुधार नभई विश्वविद्यालयको बौद्धिक दर्शन (Academic Philosophy) नै पुनर्परिभाषित गर्नु हुनुपर्छ।
यदि विश्वविद्यालयलाई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्न सकियो भने मात्र ज्ञानमा आधारित अर्थतन्त्र निर्माण सम्भव हुन्छ। त्यसबाट सक्षम, आत्मनिर्भर, सिर्जनशील र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन हुनेछन्। विश्वविद्यालय तब मात्र सफल हुन्छ, जब त्यहाँबाट निस्कने विद्यार्थीले केवल प्रमाणपत्र होइन, नयाँ विचार, नयाँ प्रविधि, नयाँ उद्यम र नयाँ सम्भावनाको सिर्जना गर्छ।
नेपालको भविष्य अब घोकन्ते शिक्षा प्रणालीले निर्माण गर्न सक्दैन। भविष्य निर्माण गर्न अनुसन्धानमुखी, परियोजनामुखी, नवप्रवर्तनमुखी र उद्यमशील विश्वविद्यालयको आवश्यकता छ। शिक्षा प्रणालीलाई परीक्षा केन्द्रित संस्कृतिबाट मुक्त गरी ज्ञान उत्पादन, समस्या समाधान र अवसर सिर्जनाको माध्यम बनाउन सकियो भने मात्र विश्वविद्यालय राष्ट्र रूपान्तरणको वास्तविक केन्द्र बन्न सक्छ।
— द्रोणाचार्य पराजुली
एमफिल स्कलर, नेपाल खुल्ला विश्वविद्यालय




