वायु प्रदूषण (Air Pollution) र सार्वजनिक स्वास्थ्यमा यसको प्रभाव: बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूमाथि पर्ने विशेष जोखिम
भूमिका (Introduction)


नेपालको आकाश आज धुवाँले ढाकिएको छ। काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (Air Quality Index — AQI) मार्च २०२६ को मध्यसम्ममा २०० भन्दा माथि पुगेको छ “जुन विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्डभन्दा करिब ९ गुणा बढी हो। यो केवल वातावरणीय समस्या मात्र होइन” यो एक मूक जनस्वास्थ्य संकट (Silent Public Health Crisis) हो। तर यस संकटको सबैभन्दा मार्मिक पाटो के हो भने यसको सबैभन्दा गहिरो नकारात्मक प्रभाव ती मानिसहरूलाई लाग्छ जो पहिले नै सबैभन्दा जोखिम (Vulnerable) मा छन्: बालबालिका, ज्येष्ठ नागरिक, र अपाङ्गता भएका व्यक्तिहरू। यही तीन समूहलाई केन्द्रमा राखेर यो लेख तयार पारिएको छ।
नेपालको वायु प्रदूषणको वर्तमान अवस्था
विश्व वायु गुणस्तर प्रतिवेदन (World Air Quality Report) २०२४ अनुसार, नेपाल विश्वको सातौं सर्वाधिक प्रदूषित देश हो। विश्व बैंकको नयाँ प्रतिवेदन “Towards Clean Air in Nepal: Benefits, Pollution Sources, and Solutions” (जून २०२५) ले स्पष्ट रूपमा भनेको छ: वायु प्रदूषण अहिले नेपालमा मृत्यु र अपाङ्गताको सबैभन्दा ठूलो जोखिमको कारक बन्ने जोखिम बढको छ — जसले जोखिमको कारक बन्न कुपोषण र सुर्ती सेवनलाई समेत पछि पारेको छ।
प्रमुख तथ्याङ्कहरू:
- प्रतिवर्ष २६,००० भन्दा बढीको अकालमृत्यु वायु प्रदूषणका कारणले हुन्छ,
- वायु प्रदूषणलेऔसत नेपालीको आयु ३.४ वर्षका दरले घटाउँछ,
- नेपालको वार्षिक औसत 5 स्तर:८३.१ माइक्रोग्राम प्रति घनमिटर — WHO को सीमाभन्दा (५ µg/m³) १६ गुणा बढी छ,
- Environmental Performance Index २०२४ मा नेपाल१८० देशमध्ये १७५औं स्थानमा छ,
- वायु प्रदूषणको सन्दर्भमाकाठमाडौं उपत्यका र तराई (Terai) नेपालका दुई प्रमुख वायु प्रदूषण केन्द्र (hotspot) हरू हुन् र पछिल्लो एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन।
बालबालिकामा प्रभाव: भविष्यको पुस्तामाथि आक्रमण
बालबालिका वायु प्रदूषणका सर्वाधिक जोखिममा रहेको समूह हो। किनभने:
- शारीरिक कारणले:बच्चाहरूको श्वासप्रश्वास प्रणाली (respiratory system) अझै विकसित हुँदैछ। तिनीहरूले आफ्नो शरीरको तौलको अनुपातमा वयस्कभन्दा बढी सास फेर्छन्, जसले गर्दा बढी प्रदूषित कण (5) शरीरभित्र प्रवेश गर्छन्।
- स्वास्थ्यमा दीर्घकालीन असरले:दम (asthma), फोक्सोको विकास अवरोध (stunted lung development), न्युमोनिया (pneumonia), र दीर्घकालीन श्वासप्रश्वास रोग (Chronic Obstructive Pulmonary Disease — COPD) को जोखिम बढ्छ। विश्व बैंकको प्रतिवेदन अनुसार वायु प्रदूषणले ३०% नवजात शिशुको समस्या (कम जन्म तौल र समयपूर्व जन्म) मा योगदान पुर्याउँछ।
- सिकाइमा असरले:प्रदूषित हावाको दीर्घकालीन सम्पर्कले बालबालिकाको मस्तिष्क विकास र एकाग्रता क्षमतामा नकारात्मक प्रभाव पार्छ, जसले विद्यालयमा उनीहरूको सिकाइ र उपस्थितिमा असर गर्छ।
- काठमाडौं, सप्तरी लगायत नेपालका प्रमुख शहरी क्षेत्रका स्कूलहरू “Unhealthy” वा “Hazardous” AQI हुँदा पनि सञ्चालनमा रहनाले बालबालिकाहरूलाई दैनिक रूपमा विषाक्त हावाको सम्पर्कमा ल्याईन्छ।
ज्येष्ठ नागरिकमा प्रभाव: मौन कष्ट
ज्येष्ठ नागरिकहरूको रोग प्रतिरोधात्मक क्षमता (immunity) कमजोर भइसकेको हुन्छ। उनीहरूमा पहिले नै उच्च रक्तचाप (hypertension), मधुमेह (diabetes), हृदयरोग (heart disease) वा फोक्सोको रोग भएको हुन्छ र वायु प्रदूषणले यी सबै अवस्था झन् बढाउँछ।
SAGE Open Public Health (२०२५) मा प्रकाशित अनुसन्धानले पुष्टि गरेको छ कि खराब AQI सँग सम्बन्धित प्रमुख रोगहरूमा स्ट्रोक (stroke) — ४६%, ischemic heart disease — ४४%, र फोक्सोको क्यान्सर (lung cancer) — ३८% समावेश छन्। यी रोगहरूले ज्येष्ठ नागरिकलाई असन्तुलित रूपमा प्रभावित पार्छन्।
अपाङ्गता भएका व्यक्तिहरू: सबैभन्दा उपेक्षित समूह
यो लेखको सबैभन्दा महत्त्वपूर्ण र प्रायः छुटाईने पाटो हो। अपाङ्गता र वायु प्रदूषणको सम्बन्ध दुई दिशामा जान्छ:
- पहिलोवायु प्रदूषणले अपाङ्गता सिर्जना गर्छ। विश्व बैंकको प्रतिवेदनले स्पष्ट गरेको छ कि वायु प्रदूषण मृत्यु र अपाङ्गता (death and disability) दुवैको कारण बन्छ। दम, COPD, मधुमेह, क्षयरोग (tuberculosis), मानसिक स्वास्थ्य विकार (mental health disorders) — यी सबै अपाङ्गताका कारणहरू हुन्।
- दोस्रो पहिले नै अपाङ्गता भएका व्यक्तिहरूदोहोरो जोखिममा हुन्छन्। श्वासप्रश्वास, हृदय, स्नायु वा रोग प्रतिरोधात्मक क्षमतामा पूर्वविद्यमान समस्या भएकाहरूको लागि प्रदूषित हावा झन् घातक हुन्छ। तर नेपालको कुनै पनि वायु गुणस्तर स्वास्थ्य प्रतिवेदनले अपाङ्गता-खण्डीकृत तथ्याङ्क (disability-disaggregated data) प्रकाशित गर्दैन।
“घरभित्रै बस्नुस्” भन्नाले सधैं काम गर्दैन: जो बालबालिका या व्यक्तिहरू सहायक उपकरण (assistive devices) को प्रयोग गर्छन्, जो फिजियोथेरापी या विशेष विद्यालय जान्छन्, तिनीहरूलाई “घरभित्रै बसाउनु” सम्भव छैन।
घरेलु वायु प्रदूषण (indoor air pollution): बाहिरको PM2.5 मात्रै समस्या होइन। जैविक इन्धन (biomass cooking fuel) प्रयोग गर्ने निम्न आयवर्ग भित्रका परिवारहरू “जहाँ अपाङ्गताको दर बढी हुन्छ” र घरभित्रको वायु प्रदूषणबाट समेत पीडित छन्।
मानसिक स्वास्थ्य: नीतिले बिर्सेको आयाम
वायु प्रदूषण र मानसिक स्वास्थ्य (mental health) को सम्बन्धबारे वैज्ञानिक प्रमाण बढ्दो छ, तर यो नेपालको कुनै पनि वायु गुणस्तरको नीतिगत ढाँचामा समावेश गरिएको छैन। दीर्घकालीन दुषित हावाको सम्पर्कले एन्जाईटी (anxiety), डिप्रेसन (depression), र सोच्नेबुझ्ने क्षमता (cognitive ability) मा नकारात्मक प्रभाव पार्छ भन्ने तथ्य विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरुले देखाएक छन्।
के गर्न जरूरी छ? (What Needs to Be Done)
१. अपाङ्गता-खण्डीकृत तथ्याङ्क: वायु गुणस्तर स्वास्थ्य प्रभाव मूल्याङ्कनमा CRPD र अपाङ्गता अधिकार ऐन २०७४ अनुरूप अपाङ्गता-खण्डीकृत तथ्याङ्क अनिवार्य बनाउनुपर्छ।
२. समावेशी सार्वजनिक सूचना: AQI सम्बन्धी सबै सार्वजनिक स्वास्थ्य सूचनाहरू अपाङ्गता-मैत्री जस्तैः अडियो अलर्ट, ब्रेल, सामुदायिक रेडियो र स्थानीय भाषामा बनाउनुपर्छ।
३. खाना पकाउने ऊर्जा सुधार: स्वच्छ इन्धन अनुदान कार्यक्रममा अपाङ्गता भएका व्यक्ति भएका परिवारलाई प्राथमिकता दिनुपर्छ।
४. अन्तरक्षेत्रीय नीति ढाँचा: वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र अपाङ्गता राष्ट्रिय निर्देशन समिति मिलेर प्रदूषण, अपाङ्गता र स्वास्थ्य बीचको सम्बन्ध र एक-अर्कामा पर्ने प्रभावलाई एकीकृत ढाँचाको रुपमा Pollution–Disability–Health Integrated Framework बनाउनुपर्छ।
निष्कर्ष
वायु प्रदूषण सबैका लागि हानिकारक छ, तर बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि यो वहुजोखिमको विषय हो। “सफा हावा” को अभियान तब मात्र पूर्ण हुन्छ जब यसले “कसैलाई पछि नछोड्ने” (Leave No One Behind) को सिद्धान्तलाई अपनाउँछ। र अन्तमा हामी यो अनुभवबाट भन्न सक्छौं: प्रविधि र तथ्याङ्क तब मात्र प्रभावकारी हुन्छन् जब ती साँच्चिकै समावेशी (inclusive) हुन्छन्।
सन्दर्भ सामग्री (References)
World Bank (June 2025). Towards Clean Air in Nepal: Benefits, Pollution Sources, and Solutions. https://www.worldbank.org/en/news/press- release/2025/06/17/air-pollution-is-the-number-one-health- risk-factor-in-nepal
Pathak, N., Dhungana, S., Bidari, P. et al. (2025). Adverse Health Consequences of Poor Air Quality in Nepal: A Wake- Up Call. SAGE Open Public Health. DOI: 10.1177/00469580251375858 https://pmc.ncbi.nlm.nih.gov/articles/PMC12441282/
IQAir (March 8, 2026). Kathmandu Among Top 10 Most Polluted Cities in the World. https://www.iqair.com/newsroom/kathmandu- among-top-10-most-polluted-cities-in-the-world-3-8-2026
Kathmandu Post (June 18, 2025). Air Pollution is Top Cause of Death and Disability in Nepal. https://kathmandupost.com/health/2025/06/18/air- pollution-is-top-cause-of-death-and-disability-in- nepal
Rising Nepal Daily (2026). Air Pollution: Nepal’s Silent Killer. https://risingnepaldaily.com/news/77165
KhabarHub (2026). Air Pollution Causes 42,000 Deaths Annually in Nepal, Children at High Risk. https://english.khabarhub.com/2026/13/539113/
Environmental Performance Index (2024). Nepal Country Profile. https://epi.yale.edu
सरकार नेपाल, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ (Rights of Persons with Disabilities Act 2074). Nepal Law Commission. https://www.lawcommission.gov.np
अध्येता तथा लेखकको परिचयः
किशोर रिजाल |सोसियो ईन्जिनियरिंग रिसर्च एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक| लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण (GEDSI) विज्ञ| राष्ट्रिय युवा गैसस महासंघ, नेपालमा प्राविधिक सल्लाहकार- समावेशीता, विविधता तथा सुशासन हुनुहुन्छ।




