काठमाडौँ विश्वविद्यालय र सीटीएफ नेपालबीच ‘लिटरेसी एजुकेटर’ शैक्षिक कार्यक्रमका लागि सम्झौता

२०८२ माघ ७, बुधबार १६:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, माघ ७ (२०८२) – काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपाल करियर ट्रेनिङ फाउन्डेसन (सीटीएफ नेपाल) ले एक वर्षे ‘लिटरेसी एजुकेटर’ (साक्षरता शिक्षक) शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज सम्पन्न सम्झौतापछि कार्यक्रमको तयारी सुरु भएको सीटीएफ नेपालले जनाएको छ।

यो कार्यक्रम प्रि–सर्भिस र इन–सर्भिस शिक्षक विकासका रूपमा डिजाइन गरिएको छ, जसले व्यावसायिक तथा शैक्षिक डिग्री प्रदान गर्नेछ। कार्यक्रममा बालबालिका तथा विद्यालयमा पठन संस्कृति विकास, डिजिटल लिटरेसी, फाइनान्सियल लिटरेसी, मार्केट लिटरेसी, कल्चरल लिटरेसी, ल्याङ्ग्वेज लिटरेसी र न्युमेरेसीलगायत १० वटा कोर्सहरूलाई दुई सेमेस्टरमा समेटिएको छ।

यो कार्यक्रम यही शैक्षिक सत्रबाट इटहरी, काठमाडौँ, पोखरा र धनगढीमा एकसाथ सञ्चालनमा आउने सीटीएफ नेपालका कार्यकारी अध्यक्ष बद्री दाहालले  बताएका छन्। नेपालमा विद्यालय शिक्षालाई आधुनिक सन्दर्भमा बलियो बनाउन साक्षरताको दिगो अभ्यास आवश्यक रहेको भन्दै यो सीप विकास कार्यक्रम योजनाबद्ध रूपमा सुरु गरिएको हो।

कार्यक्रमले सीप, संस्कार र प्रविधिसहितको शिक्षालाई जोड दिँदै प्रयोगात्मक अभ्यासलाई नियमित र दिगो बनाउने लक्ष्य राखेको छ। निजी तथा सार्वजनिक क्षेत्रका विद्यालयहरूको पाठ्यक्रममा नीतिगत समन्वय गर्दै यसलाई व्यापक बनाउने तयारी भइरहेको छ।

सीटीएफ नेपालले यस कार्यक्रमका लागि सबै पक्षको साथ, सहयोग र सहकार्यको अपेक्षा गरेको छ। “कर्मठ र सीपयुक्त दक्ष नागरिकले राष्ट्रको उन्नति र प्रगतिमा पुर्‍याउने योगदानलाई अब नतिजामुखी बनाउनुपर्छ,” संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो पहलले नेपालको शिक्षाक्षेत्रमा साक्षरता र सीप विकासलाई नयाँ आयाम दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार