
युवा संस्थाहरुको छाता सङ्गठन राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।महासङ्घको वार्षिक प्रगती तथा आर्थिक विवरण पारित गर्दै काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । वाग्मती प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री केशव पोख्रेलको प्रमुख आथित्यता र महासङ्घका केन्द्रिय अध्यक्ष शशि शर्मा मजगैयाँको अध्यक्षतामा सम्पन्न साधारणसभामा देशभरिका पचास बढी जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साधारणसभाले महासङ्घका विभिन्न नीति ,योजना र कार्यविधि माथी छलफल गर्दै संसोधन गर्ने निर्णय गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले महासङ्घले युवाका मुद्दाहरुलाइ सशक्त बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने बताए । अपांग तथा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवाहरुले युवाभित्र आफ्ना मुद्दाहरु ओझेल परिरहेको भन्दै महासङ्घले त्यसको संरक्षण र वकालत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा माननीय केशव पोखरेल ,प्रकाश विकल्प,टीका ढकाल,खिलनाथ लुइँटेल,डा.नवीन जोशी,आर .के ढुंगाना लगायतका वक्ताहरुले बोलेका थिए ।


महासङ्घले पारदर्शी तरिकाले विवरण पेश गरेको भन्दै पुर्व मन्त्री पोखरेलले युवाहरु सुशासन र पारदर्शिताको सम्वाहक भएको बताए । युवा जागरण सङ्गै नितिगत तहमै युवाको जवर्जस्त उपस्थिति हुनुपर्नेमा कार्यक्रमका वक्ता प्रकाश विकल्पको जोड थियो । ग्रीन जब र ग्रीन इकोनोमी आजको आवश्यकता भएको भन्दै दिगो वातावरण संरक्षणका लागि युवा सहभागिता हुनुपर्ने भन्दै महासङ्घले वातावरण संरक्षणका विभिन्न रणनीतिक कार्ययोजनामा काम गरिरहेको महासङ्घका वन तथा वातावरण विज्ञ डा.नवीन जोशीले बताए । कार्यक्रमको समापन खण्डमा बोल्दै महासङ्घका अध्यक्ष मजगैयाँले सङ्घ र प्रदेश सभाका सदस्यहरुलाई विभिन्न नीति निर्माणमा अभिमुखिकरण गर्नुका साथै समाज विकासमा युवाको सहभागिता र योगदानमा वकालत गर्दै विभिन्न कार्यक्रम संचालन गरिरहेको बताए । महासङ्घका सचिवालय सदस्य शोभा घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासचिव राजु सुनार र कोषाध्यक्ष प्रदीप प्रसाद चौलागाईंले क्रमशः महासङ्घको प्रगती र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासङ्घका उपाध्यक्ष दिपक कार्कीले संचालन गरेको कार्यक्रममा कार्यक्रम सम्योजक द्वय क्षितिज शर्मा र रश्मि सेढाईले महासङ्घमा संचालित परियोजनाका उपलब्धिलाई प्रष्ट्याउदै प्रस्तुतीकरण गरेका थिए ।