
चन्द्रागिरीमा ६५ करोडको एसभीएएन स्कुलको शिलान्यास: पूर्वीय दर्शन र आधुनिक शिक्षाको संगम
काठमाडौं, चन्द्रागिरी।
पूर्वीय जीवनदर्शनको गहिराइ र २१औं शताब्दीको आवश्यक आधुनिक सीपलाई एकैसाथ समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका–७, महांकाल ब्याडमिन्टन परिसरमा एसभीएएन स्कुलको भव्य शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका अग्रज व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।


कार्यक्रममा एनप्याब्सन अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेज अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुप अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हल अध्यक्ष श्रीहरि थापा, साथै समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल र कुमार भट्टराईजस्ता विशिष्ट अतिथिहरूको सहभागिता रह्यो।
कार्यक्रममा स्कुलका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको परिकल्पना, विशेषता र भविष्यको योजना सार्वजनिक गर्दै बताए, “शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा बन्ने यस स्कुलले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा केन्द्रित शिक्षा प्रदान गर्नेछ।”
उनका अनुसार स्कुलको मुख्य भवन १० रोपनी क्षेत्रफलमा ७४ हजार वर्गफिटमा निर्माण हुनेछ, भने सम्पूर्ण परियोजना ३०० रोपनीभन्दा बढी क्षेत्रमा विस्तार हुनेछ। यसमा खेल मैदान, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र तथा आधुनिक डिजिटल कक्षा जस्ता सुविधा रहनेछन्।
शाहीले प्रारम्भिक चरणमा कक्षा १ देखि १० सम्मको पठनपाठन सुरु हुने जानकारी दिए। दोस्रो चरणमा भने ए–लेभल, इन्टरनेसनल ब्याकलरिएट (IB), फिनिस पाठ्यक्रम जस्ता अन्तर्राष्ट्रिय पाठ्यक्रममार्फत कक्षा ११ र १२ सञ्चालन गरिनेछ।
उनले थपे, “हामी विद्यार्थीहरूलाई केवल ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, नेतृत्व क्षमता र नवप्रवर्तनमूलक सोचसहित सक्षम नागरिक बनाउने लक्ष्यमा छौं।” विद्यालयको जग्गासहित अनुमानित लागत करिब ६५ करोड रुपैयाँ हुने बताइएको छ।
कार्यक्रममा वक्ताहरूले एसभीएएन स्कुलले भविष्यमा नेपाली शिक्षा प्रणालीमा उदाहरणीय मोडेल प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै सफलता र दीर्घ स्थायीत्वको शुभकामना व्यक्त गरेका थिए।
स्थानीय अभिभावक, शिक्षक, सञ्चारकर्मी, विद्यार्थी तथा समाजसेवीहरूको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयप्रतिको गहिरो उत्साह र समर्थन झल्किएको थियो।
अन्त्यमा, निर्देशक शाहीले भने, “एसभीएएन स्कुललाई हामी स्थानीय सीमाभन्दा बाहिर गएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गन्तव्य बनाउने सपना बोकेको छौं। अभिभावकहरूको विश्वास र लगानीलाई गुणस्तरीय, सन्तुलित र व्यवहारिक शिक्षाद्वारा प्रतिफल दिने हाम्रो प्रतिबद्धता हो।”