
सामूहिक आवास, कमर्शियल भवनदेखि जलविद्यूत तथा एयरपोर्टसम्मका ठूला पूर्वाधार निर्माण क्षेत्रमा लगानी गर्ने गरी भूमि इन्फ्रास्टक्चर कम्पनी दर्ता भएको छ ।
मोरङ जिल्लाको कटहरी गाउँपालिका–३ मा कार्यालय रहने गरी २८ चैत ०७९ मा उद्योग विभागमा दर्ता भएको यस कम्पनीमा शतप्रतिशत स्वदेशी लगानी रहनेछ ।


भूमि पूर्वाधार कम्पनीको कुल पुँजी ५ अर्ब ९५ करोड रुपैयाँ रहनेछ, जसमध्ये ५ अर्ब चुक्ता पुँजी हुनेछ भने ९५ करोड चालु पुँजी हुने उल्लेख छ ।
यस कम्पनीले हाउजिङ, कमर्शियल भवन, सडक, पुल, फ्लाइ ओभर, सब–वे, सुरुङ, रोप–वे, रेल–वे, विमानस्थल, हाइड्रोपावर, विद्युत प्रसारण लाइन, ड्याम, सिँचाई तथा खानेपानी, ढल, नहरसम्म लगानी गर्ने उल्लेख छ ।
भूमि इन्फ्रास्टक्चर प्रालिले पूर्वाधार परियोजनामा १४ अर्ब रुपैयाँसम्म लगानी गर्ने उद्योग विभागमा पेश गरेको विवरणमा उल्लेख छ ।
यो कम्पनीले ६५० जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ । यस्तै, ५० केभीए क्षमताको विद्युत लाइन आवश्यक पर्ने उल्लेख छ ।
पछिल्लो समय ठूला पूर्वाधार परियोजनाहरु निर्माणमा लगानी गर्ने गरी इन्भेष्टमेन्ट कम्पनीहरु खुलिरहेका छन् ।