
स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत गर्न वेबमा आधारित ‘अटोमेटिक रुट’ प्रणाली सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले मानवीय संलग्नता बिना उक्त काम गर्न सो प्रणाली प्रयाेगमा ल्याउन लागेकाे हाे ।
याेसँगै विदेशमा रहेका कम्पनी/व्यक्तिले नेपालमा लगानी गर्दा वेबसाइटबाटै सबै कानूनी काम गर्न सक्नेछन् । विदेशी लगानी स्वीकृत गर्न विभागले गत वर्षको १ साउनबाट अनलाइन प्रणाली (Industry Management Information System, IMIS) सञ्चालन गरिसकेको छ । तर त्यसमा लगानीकर्ताले भरेको फारमलाई अधिकृतले रुजु गरेर प्रमाणित गर्नुपर्ने हुन्छ ।


अब भने प्रचलित कानून बमोजिम उद्योग तथा कम्पनी दर्ता, विदेशी लगानी स्वीकृत जस्ता सेवा स्वचालित प्रणालीमार्फत गर्न सकिने अनलाइनमा गर्न सकिने भएको हो । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा ‘अटोमेटिक रुट’ आफैंमा लगानीमैत्री वातावरणको एक महत्त्वपूर्ण सूचक भएकाले नेपालमा पनि यसको सुरु गर्न लागिएको विभागका अधिकृत पवन गुप्ताले बताए ।
“अटोमेटिक रुट सुरु भएपछि नेपालमा लगानी गर्न इच्छुक विदेशी व्यक्ति विभाग आउनुपर्दैन । प्रमाणपत्र पाउन कुर्नुपर्दैन । उसले जति बेला फारम भर्छ, त्यति बेलै प्रमाणित हुन्छ,” उनले भने ।
यद्यपि यस प्रणालीबाट सीमित क्षेत्रका लागि मात्र लगानीको स्वीकृत पाउन सकिने उनले जनाए । उनका अनुसार ती क्षेत्र बारे भने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
हाललाई यसबाट कम जोखिम भएका आठ क्षेत्रमा दुई करोड देखि १० करोड रुपैयाँसम्म लगानीको स्वीकृत पाउन सकिने छ । अब मन्त्रिपरिषद्ले सो कुराको निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको क्षणबाट उक्त वेबसाइट ‘लाइभ’ गरिने भएको छ ।