मर्स्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन बढ्न थाल्यो

२०८० जेष्ठ ८, सोमबार ११:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न थालेको छ । हाल वर्षा हुन थालेपछि उत्पादन बढेको तर पूर्ण क्षमतामा भने उत्पादन हुन नसकेको केन्द्रले जनाएको छ ।

६९ मेगावाट क्षमताको केन्द्र हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल ५५ मेगावट पुगेको केन्द्रका प्रमुख बद्री फुयालले बताउनुभयो । वर्षा थोरै भएको र जलवायू परिवर्तनले हिमाल हिउँ कम परेको पूर्ण क्षमतामा उत्पादन हुन नसकेको हाे ।

केन्द्रका प्रमुखले भन्नुभयो ‘‘यतिबेला प्रशस्त पानी पर्ने समय हो तर खडेरी लामो समय सम्म भएकाले नदीमा पानीको वहाब कम भएकाले पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन ।’’

धेरै समय खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रले जानकारी दिनुभयो । यो समय वर्षा मौसमको भए पनि वर्षा थोरै मर्स्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएकाले ६९ मेगावाट उत्पादन हुनु पर्नेमा ५५ मेगावाट मात्रै भएको उहाँ बताउनुहुन्छ ।

साँझ र विहान विजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्मा जम्मा गरेर लैजाने साँझ विहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।

केन्द्रका अनुसार विद्युतको माग साँझ ५ बजे देखि १० बजे सम्म र विहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिव पूर्ण क्षमतामै उत्पादन गरिएको छ । विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाब घढेसँगै विद्युत उत्पादन पनि घट्ने गर्दछ ।

यसैगरी गर्मी मौसम पानी धेरै पर्ने हिमाल पनि धेरै पग्लने भएकोले उत्पादन वृद्धि हुने गर्दछ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय