न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रम शुरु

२०८० जेष्ठ ५, शुक्रबार ११:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

न्यू बिजनेश एजले आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स कार्यक्रम शुरु भएको छ । कार्यक्रमको न्यू बिजनेश एजका अध्यक्ष मदन लम्साल र डोल्मा इम्प्याक्ट फण्डका टिम गोचर ओबीईले संयुक्तरूपमा उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लम्सालले नेपालमा पनि स्टार्टअपले जरा गाड्दै गइरहेको बताए । ‘केही स्टार्टअपहरू सर्वसाधारणमा शेयर जारी गर्ने हैसियतमा पुग्दै छन् । यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ,’ उनले भने ।

दैनिक ३३ सय युवा विदेशिइरहेको अवस्थामा तिनलाई रोक्नको लागि पनि यो अवार्ड कार्यक्रम आयोजना गरिएको लम्सालले बताए ।

डोल्म इम्प्याक्ट फण्ड लगायतका संस्थाले पनि स्टार्टअपलाई सहयोग गरिरहेको भन्दै स्वतन्त्र निर्णायक मण्डलबाट छानिएर पुरस्कृत गरिएको जानकारी दिए । ‘कतिपय राम्रा स्टार्टअपहरू हाम्रो सम्पर्कमै आउन सकेनन् । आएका मध्येबाट उत्कृष्ट स्टार्टअपहरूलाई सम्मान गरिँदै छ,’ उनले भने, ‘२०१७ देखि हामीले यसरी स्टार्टअपलाई सम्मान गरिरहेका छौं । यो कार्यक्रमभन्दा अघि हामीले स्टार्टअपका लागि तालिम पनि दिएका थियौं । सबैको उत्साहजनक सहभागिता रहेको थियो ।’

राजधानीमा एक विशेष समारोहका बीच भइरहेको कार्यक्रमलाई सांसद् तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत ‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा प्यानल डिस्कसन भइरहेको छ ।

कार्यक्रमअन्तर्गत अवार्डमा सहभागिताका लागि सातै प्रदेशबाट आवेदन माग गरिएको न्यू बिजनेश एजले जानकारी दिएको छ । कार्यक्रममा देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले अवार्ड्स कार्यक्रममा सहभागिताका लागि आवेदन दिएका थिए ।

अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।

न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यू बिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार