४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

२०८० जेष्ठ ४, बिहीबार १०:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार आयोजना निर्माणका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको छ । उक्त बैठकमा नेपाल बंगलादेशबीचको अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने सुनकोशी जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत आयात–निर्यात गर्ने लगायतका विषयमा सहमति भएको मन्त्राले बताएको छ ।

बंगलादेशमा सोमबार र मंगलबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र विकासका विषयमा हस्ताक्षर भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सुनकोशी–३ काभ्रे र रामेछापको सिमानामा पर्छ । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ ।

यसबाट वार्षिक २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने प्रक्षेपण छ । हिउँदयाममा भने ६२ करोड २३ लाख युनिट मात्र उत्पादन हुन्छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत उर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षतामा बंगलादेशको पवाखतीमा सम्पन्न भएको थियो । दुवै देशका सहसचिव सम्मिलित संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरुमा छलफल भएको मन्त्रालयले बताएको छ ।

“नेपालमा उत्पादित ४० मे.वा. सम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एन.टि.पी.सि. विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौता हस्ताक्षर गर्ने, सुनकोशी जलविद्युत आयोजनाको निर्माण र विकास गर्नको लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिना भित्र संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमती भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल र बंगलादेशीय विद्युत व्यापारका लागि अन्तरदेशीय प्रशारण लाइनका सम्भाव्य विकल्पहरुको अध्ययन गरी ६ महिना भित्र प्रतिवेदन पेश गर्न विद्युत प्रशारण लाइन सम्बन्धी संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने र नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागि बंगलादेशको निजीक्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने सहमति भएको छ ।”

वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशीय सहकार्यको लागि तयार गरिएको समझदारी पत्रको मस्यौदामा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने पनि सहमति भएको छ । मन्त्रालयका अनुसार नेपाल–बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि उच्चस्तरीय र प्रशासनिक संयन्त्र स्थापना गर्नको लागि दुवै पक्षबाट पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार