
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले ताप्लेजुङको मेवादेखि चाँगे (ढुङ्गेसाँघु) सम्म १३२ केभीको प्रसारण लाइन निर्माण थालेको छ । करिब २० किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन बन्ने छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –१ मेवा सवस्टेसनदेखि जिल्लाको मैवाखोला गाउँपालिका–१ स्थित ढुङ्गेसाँघु सवस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्न लागिएको हो । १ वर्षमा सक्ने लक्ष्य लिइएको उक्त प्रसारण लाइनका लागि ३० करोड रुपैयाँ लागत अनुमान छ ।
उक्त प्रसारण लाइनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले शिलान्यास गरेका छन् । यस प्रसारण लाइनमा ६२ वटा टावर रहने छन् । प्रसारण लाइनले मेवा खोला बेसिनमा निर्माण गरिने मेवा खोला, तल्लो मेवा खोला, सोना खोला, पालुन खोला–१, पालुन खोला सानो र माथिल्लो मेवा खोला–ए जलविद्युत् आयोजना जोड्ने ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए ।


जलविद्युत् आयोजनाहरुबाट उत्पादित करिब १५० मेगावाट विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने गरी यो लाइन निर्माण सुरु गरिएको ज्ञवालीले बताए । ‘छुट्टा–छुट्टै प्रसारण लाइन निर्माण गर्नुभन्दा एउटा साझा निर्माण गरी विद्युत् प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएकाले यो आयोजना अगाडि बढाइएको हो’, उनले भने, ‘यस आयोजनाबाट मेवा खोला बेसिनमा निर्माण गरिने जलविद्युत् आयोजनाहरु लाभान्वित हुनेछन्, साथै समयमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’
स्थानीय स्तरबाट आयोजनालाई आवश्यक सहयोग गर्ने र प्रसारण लाइन आयोजनाहरुबाट हुने विविध क्षतिहरु न्यूनीकरण गर्न एकीकृत प्रसारण लाइन निर्माण गर्नु पर्ने आवश्यकता रहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताए । कम्पनी तथा निर्माण व्यवसायीलाई आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिँदै आयोजनालाई आवश्यक सहयोग मन्त्रालयले गर्ने ऊर्जा सचिव घिमिरेले बताए ।source:kantipur