शशि शर्मा मजगैयाँलाई सामाजिक सम्मान

२०८२ पुष २२, मंगलवार ०४:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

समाजसेवी गीतकार तथा अधिवक्ता शशि शर्मा मजगैयाँलाई रापती समाज काठमाडौंबाट “रापती सामाजिक सम्मान–२०८२” प्रदान गरिएको छ। नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड–२०८२ को अवसरमा प्रदान गरिएको सो सम्मान मजगैयाँको साहित्य, संगीत, कानुन, आमसञ्चार र सामाजिक सेवाका क्षेत्रमा दुई दशकभन्दा बढीको निरन्तर, प्रभावकारी र बहुआयामिक योगदानको मूल्याङ्कनस्वरूप प्रदान गरिएको हो। दाङको तुलसीपुरमा आमा मिना शर्मा तथा बुबा हरिप्रसाद पोख्रेलको कोखबाट जन्मिएका मजगैयाँ गीतकार, अधिवक्ता, वक्ता, सञ्चारकर्मी एवं समाजसेवीका रूपमा राष्ट्रिय परिचय स्थापित गरिसकेका छन्।
वि.सं. २०६३ सालमा स्थापना भएको रापती समाज काठमाडौंमा स्थापना कालदेखि नै सदस्य, सचिव, महासचिव र दुई कार्यकालसम्म अध्यक्ष भएर नेतृत्व प्रदान गरेका उनले हाल संरक्षकका रूपमा संस्थागत विकास, पारदर्शिता र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा निरन्तर सक्रियता जनाइरहेका छन्। भूकम्प, बाढी–पहिरो, आगलागी जस्ता विपत्तिका बेला राहत, उपचार सहजीकरण, छात्रवृत्ति सहयोग, पुनर्निर्माण पहलजस्ता कार्यमार्फत उनले निर्वाह गरेको मानवीय सेवाको भावना र नेतृत्वक्षमता उच्च प्रशंसनीय मानिन्छ।
समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र विशिष्ट अतिथि नीर शाहको उपस्थितिमा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममार्फत चलचित्र, संगीत, गायन, भिडियो निर्देशन, मोडेलिङ, छायांकन, सम्पादनलगायत ४२ विधामा अवार्ड प्रदान गरिए। सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा हेमराज लामिछाने (हिमाल पहाड तराई), चलचित्र गीतकारमा सुरेन्द्र राणा, चलचित्र संगीतकारमा थानेश्वर गौतम, चलचित्र गायिकामा शान्ति श्री परियार, नवगायिकामा रेखा पोख्रेल, नवगायकमा सुरज भुसाल, रापती सांस्कृतिक सम्मानमा यागेश्वर बस्नेत, डायस्पोरिक सम्मानमा बसन्त लम्साल, पत्रकारिता पुरस्कारमा भोजराज थापा, बाल प्रतिभा पुरस्कारमा स्वयं केसी, उद्यमशीलता सम्मान–२०८२ मा दीपक कार्की सम्मानित भए। कार्यक्रममा अर्जुन मिलन (संविधानविद् डा. भिमार्जुन आचार्य), वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ संगीतकार दीपक जङ्गम, नायक पल शाह, गायक प्रमोद खरेललगायत सयौं कलाकार एवं करिब हजारभन्दा बढी दर्शकहरूको सहभागिता थियो।

सम्मान ग्रहणपछि मजगैयाँले “यो सम्मान एउटा उपहारभन्दा बढी जिम्मेवारी हो, संगीत मेरा श्वास हुन्, न्याय मेरो पेशा र सेवा मेरो जीवन–धर्म” भन्दै कृतज्ञता व्यक्त गरे। रापती समाज काठमाडौंकै अध्यक्ष गोविन्द मधुर आचार्यले आगामी वर्ष अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै विश्वभरिका नेपाली सांस्कृतिक प्रतिभालाई एकै मञ्चमा ल्याइने प्रतिबद्धता व्यक्त गरे। साहित्य, संगीत, कानुन र मानवीय सेवामा दीर्घकालीन समर्पणसहित स्थापित शशि शर्मा मजगैयाँ आज रापती क्षेत्रदेखि राष्ट्रिय मञ्चसम्म एक भरोसायोग्य, जिम्मेवार र प्रेरणादायी व्यक्तित्वका रूपमा उदाउँदै गएका छन् र “रापती सामाजिक सम्मान–२०८२” सो यात्राको ऐतिहासिक मीलको पत्थर बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार