अछाम–१ मा एमालेबाट पूर्ण साउँद सहित ९ जना सिफारिस

२०८२ पुष २२, मंगलवार ०३:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अछाम । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार साँफेबगरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर १ अछामको तेस्रो बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा कमलराज तिमिल्सेना रहेका छन् भने एमालेका केन्द्रीय सदस्य झपट बोहरा दोस्रो नम्बरमा सिफारिस भएका छन् । यस्तै केशर साउँद नवौँ नम्बरमा सिफारिस भएका छन् ।

एमालेले सिफारिस गरेका अन्य नेताहरूमा मनसरा साउँद, कृष्णप्रसाद जैशी, तिलक कुँवर, जनक रावल, मोति बिक र पूर्ण साउँद रहेका छन् । केन्द्रीय सदस्य झपट बोहरा यसअघिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवुरसँग पराजित भएका थिए ।

पराजयपछि पनि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका बोहरालाई यसपटक पुनः उम्मेदवारका रूपमा अघि सारिएको छ ।

यस्तै सिफारिस सूचीमा रहेका पूर्ण साउँद सशस्त्र प्रहरी बलका रिटायर्ड एसपी हुन् । उनी नेपाल ल क्याम्पसका पूर्व स्ववियु सदस्यसमेत हुन् भने अछाम–काठमाडौं सम्पर्क मञ्च, काठमाडौंका संस्थापक सचिवका रूपमा समेत काम गरिसकेका छन् ।

अब उम्मेदवारको अन्तिम टुंगो पार्टीको केन्द्रीय कमिटी तथा निर्वाचन सम्बन्धी संयन्त्रले लगाउनेछ । अछाम–१ मा यसपटकको निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले पनि अछाम १ बाट भीम रावल लगायतका उम्मेदवारलाई सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार