रापती समाज काठमाडौँले आफ्नो स्थापना कालदेखि निरन्तर रूपमा कला, संगीत र साहित्यको क्षेत्रमा राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। नेपाली कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा सिर्जनशील प्रतिभाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यका साथ समाजले विभिन्न रचनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसै सन्दर्भमा, राष्ट्रिय स्तरका कलाकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने मूल उद्देश्यसहित राष्ट्रिय रापती म्युजिक अवार्ड आयोजना गरिँदै आएको छ। रापती म्युजिक अवार्ड नेपाली संगीत क्षेत्रका स्रष्टा, कलाकार तथा प्राविधिकहरूको योगदानलाई कदर गर्ने एक प्रतिष्ठित मञ्चका रूपमा स्थापित हुँदै आएको छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड यही पौष ११ गते शुक्रबार, नेपाल प्रहरी क्लब, भृकुटीमण्डप, काठमाडौँमा भव्य समारोहका बीच आयोजना हुन गइरहेको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र यसपालिको अवार्ड समारोह अझै भव्य, मर्यादित र ऐतिहासिक हुनेमा आयोजक संस्था विश्वस्त रहेको छ। कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै करिब ५० वटा विधामा अवार्डहरू प्रदान गरिनेछ, जसले नेपाली संगीत र कला क्षेत्रमा क्रियाशील स्रष्टा तथा कलाकारहरूको योगदानलाई औपचारिक रूपमा सम्मान गर्नेछ। यस अवसरमा नेपाली कला क्षेत्रका वरिष्ठ र सम्माननीय व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठज्यूलाई अभिनन्दन गरिनेछ भने वरिष्ठ लोक गायिका कोमल ओलीज्यूलाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ। त्यसैगरी, यागेश्वर बस्नेतलाई राप्ती सांस्कृतिक सम्मान, लोक दोहोरी गायक प्रेम शर्मा र गायिका शान्ता ओलीलाई नारायण पाण्डे लोकदोहोरी प्रतिभा पुरस्कार नायक आकाश श्रेष्ठज्यूलाई सांस्कृतिक प्रतिभा पुरस्कार , पत्रकार भोजराज थापाज्यूलाई सामाजिक युवा पत्रकारिता पुरस्कार, बाल कलाकार स्वयं केसीज्यूलाई बाल प्रतिभा पुरस्कार र समाजसेवी शशी शर्मा मजगैयाज्यू लाई राप्ती समाजिक सम्मान प्रदान गरिने कार्यक्रम रहेको छ। यसबाहेक विभिन्न सांगीतिक विधामा ख्याति प्राप्त अन्य कलाकारहरूलाई पनि ४० भन्दा बढी अवार्ड तथा सम्मान प्रदान गरिनेछ। रापती म्युजिक अवार्ड कार्यक्रम स्थापनाकालदेखि नै अत्यन्त भव्य र व्यवस्थित ढङ्गबाट आयोजना हुँदै आइरहेको छ। यसपटक पनि सोही गरिमालाई अझ उचाइमा पुर् याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको र यसले नेपाली कला–संगीत क्षेत्रलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। रापती समाज काठमाडौँका पूर्व अध्यक्ष एवं संरक्षक, चर्चित गीतकार शशी शर्मा मजगैयाँले यस वर्षको अवार्ड समारोह अझै प्रभावकारी र भव्य हुनेमा पूर्ण विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्रका दर्जनभन्दा बढी संघ–संस्थाहरूसँग सहकार्य गरिएको छ। नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड कार्यक्रम राष्ट्रिय सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। अपरान्ह १ बजेदेखि दर्जनौँ रेडियो तथा टेलिभिजन च्यानलमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ, जसले देश–विदेशमा रहेका दर्शक तथा श्रोतालाई समेत जोड्नेछ। कार्यक्रमस्थलमा आउने अतिथि तथा कलाकारहरूलाई नौमती बाजा सहितका झाँकीहरूको सांस्कृतिक प्रस्तुतिमार्फत भव्य स्वागत गरिनेछ, जसले कार्यक्रमलाई थप मौलिक र सांस्कृतिक रंग प्रदान गर्नेछ। कला, संगीत र संस्कृतिको सम्मान र प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गर्दै रापती समाज काठमाडौँका अध्यक्ष तथा चर्चित गायक–संगीतकार गोविन्द मधुर आचार्यले कला–संगीतलाई माया गर्ने सम्पूर्ण सरोकारवाला, शुभेच्छुक, दर्शक तथा सहयोगी संस्थाहरूलाई कार्यक्रममा सहभागिता जनाउन र आवश्यक सहयोगका लागि हार्दिक आग्रह गर्नुभएको छ। नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड नेपाली कला, संगीत र संस्कृतिको सम्मान र उत्सव हो। यो कार्यक्रमले नेपाली स्रष्टा र कलाकारहरूको सिर्जनालाई उच्च कदर गर्दै भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।







