
मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा वैशाख ३१ गते कन्क्लेभ आयोजना भएको थियो ।
होटल नाभ्यामा दिनभर सञ्चालन भएको कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तर्किया भएको थियो । कन्क्लेभले डिजिटल मधेशका लागि आगामी रणनीति बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।


‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुती, ६ बढी थिम्याटिक प्यानल सेसन र ३० बढी विज्ञको सहभागीता रहेको थियो ।
कन्क्लेभमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहित विभिन्न मन्त्रालयका मन्त्री, सांसद, पूर्व मन्त्री, जनप्रतिनिधि, उच्च सरकारी अधिकारी, विज्ञ, सरोकारवालाहरू लगायत ३०० बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई र डेटा सुरक्षा, स्टार्टअप र इन्नोभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र छलफल गरिएको आयोजकले जानकारी दिएको छ ।
कन्क्लेभमा विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरूले शोकेश तथा प्रस्तुतीको अवसरमा समेत पाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशको डिजिटल च्याम्पियनको रूपमा खल्तीका सह-संस्थापक अरविन्द साह, डायमानिक टेक्नोसफ्टका सीईओ दिपक साह र स्किल स्पार्कका संस्थापक सिर्जना झालाई सम्मान गरिएको छ ।
कन्क्लेभलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले डिजिटल प्रविधिमा मधेश प्रदेशले ठूलो सम्भावना बोकेको बताउँदै यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिए ।
यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डिजिटल मधेशलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताए ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल प्रसाद बरालले डिजिटल मधेशलाई योजनाबद्ध ढंगबाट अगाडि बढाउन कन्क्लेभले दिशानिर्देश गर्ने बताए ।
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपालको अभियानमा फाउन्डेसनले एउटा इट्टा थप्ने काम गरिरहेको बताउँदै डिजिटल मधेश कन्क्लेभले पनि डिजिटल मधेशका लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटमा तयार गर्न सघाउने विश्वास व्यक्त गरे ।
असोसियोका उपाध्यक्ष तथा क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवरले नेपालमा राम्रा राम्रा नीति तथा कानुन भएपनि कार्यान्वयन फितलो हुँदा आईटीमा सोचे अनुरूप विकास हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै क्यान महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश शर्माले मधेशको डिजिटलाइजेसनका लागि आवश्यक बजेट छुट्याउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
source: ictsamachar.com (Credited)