
नेपालमा गाडी उत्पादन गर्ने प्रस्ताव लिएर आएको कोरियन कम्पनी मोट्रेक्सलाई लगानी बोर्डले २०७५ चैत १ गते स्विकृति दिएको थियो । त्यसपछि विभिन्न सर्भेहरु भएपनि ठोस काम अगाडि बढ्न सकेको थिएन ।
गत जेठमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोर्ड बैठकमा मोट्रेक्सलाई नेपाल सरकारको लक्ष्य सन् २०३१ पछि पूर्ण कम्बस्चन गाडी आयातमा रोक लगाउने योजना रहेको भन्दै गाडी उत्पादनको नयाँ प्रस्ताव ल्याउन मोट्रेक्सलाई आग्रह गरेका थिए । यसपछि मोट्रेक्सले नयाँ प्रस्ताव पेश गरेको थियो ।


नेपालमै गाडी एसेम्बल गर्न भन्दै आएको कोरियन कम्पनी मोट्रेक्स गाडीमा प्रयोग हुने इन्फोटेन्टमेन्ट सिस्टम निर्माता हो । २०७५ सालमा भएको लगानी सम्मेलनमा मोट्रोक्सले १० अर्ब ५४ करोड रुपैयाँ लगानी गरेर गाडी उत्पादन गर्ने प्रस्ताव गरेको थियो । त्यो प्रस्तावलाई सरकारले स्विकार गरेको हो ।
मोट्रेक्सको नयाँ प्रस्ताव अनुसार लगानी बोर्डको अब बस्ने बोर्ड बैठकबाट उद्योग स्थापना गर्न अन्तिम स्विकृति दिन लागेको बुझिएको छ ।
‘निर्वाचन लगायतका कामको कारण राजनीतिक नेतृत्वले ध्यान दिन पाएको थिएन । अब बोर्डको अध्यक्ष प्रधानमन्त्री नयाँ चुनिसकेको अवस्थामा अब बस्ने बोर्ड बैठकबाट मोट्रेक्सलाई अन्तिम स्विकृति दिने निर्णय हुन्छ होला’, लगानी बोर्डका एक संचालकले मेरोअटोसँग भने ।
अबको केही दिनपछि नै बोर्ड बैठक बस्ने तयारी भइरहेको लगानी बोर्डले पनि जनाएको छ । लगानी प्रस्तावलाई स्विकृति दिएको ४ वर्ष पुरा हुनै लाग्दा मोट्रेक्सले अन्तिम स्विकृति पाउन लागेको हो ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा रहने उद्योगको लागि सुरुमा २४ एकर जमिन उद्योगको लागि आवश्यक पर्ने बताइएको छ । यसको क्षमता विस्तार गर्दा दोस्रो फेजमा भने करिब ४९ एकर जमिनको आवस्यकता पर्ने अध्यनले देखाएको थियो ।
मोट्रेक्सले नेपालमा वार्षिक ५० हजार सवारीसाधन उत्पादन गर्ने प्रस्ताव गरेको थियो । जसमा वार्षिक ३४ हजार यूनिट ह्याचव्याक र सेडान कार उत्पादन हुनेछ । त्यसैगरी वार्षिक १५ हजार यूनिट एसयूभी र १ हजार यूनिट पीकअप उत्पादन गर्ने भनिएको छ । उत्पादन सुरु हुने वर्ष नै ६ हजार यूनिट कार उत्पादन हुने उल्लेख छ । तर, ईभी उत्पादनमा जानु पर्ने कुरा भएपछि उसले के कस्तो प्रस्ताव पेश गरेको छ भन्ने विषय बाहिर आएको छैन ।
विदेशी लगानीमा नेपालमै गाडी उत्पादन गर्ने भनिएपनि नयाँ ब्राण्ड हो वा कुनै चल्तीको ब्राण्डको एसेम्बल हो, त्यो पनि खुल्न सकेको छैन । अर्को वार्षिक १० देखि २० हजार यूनिट साना साधनको माग हुने देशमा ठूलो उत्पादन क्षमताले लागत मात्रै बढाउने र कम्पनी नै समस्यामा पर्न सक्ने देखिन्छ ।
यी सबै विषयका बाबजुद पनि नेपालमा गाडी उत्पादनमा ठूलो वैदेशिक लगानी आउने हो भने भोलिका दिनमा अन्य पार्टस्का उद्योगको लागि भने ढोका खुल्ला हुनेछ । त्यसले नेपालमै थप उद्योग खुल्ने र त्यसले रोजगारीदेखि राजश्वमा समेत सहयोग गर्ने देखिन्छ ।Source:https://www.meroauto.com/