
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताएका छन् ।बिहीबार काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन भए पनि त्यसले मात्र मानिस सुखी र खुसी हुन नसक्ने भएकाले परिपूर्ण डेमोक्रेसीले मात्र मानव खुसी र सुखी बन्न सक्ने बताएका हुन् । उनले भने, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु हुन् । २० औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो । टेलिभिजनको सुरुवात गर्यो । कम्प्युटर सुरुवात गर्यो । लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआइको जमनामा आइपुगेका छौं । डिजिटल संसारमा आइपुगेका छाँै । यसलाई मानव जातिले आफ्नो उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौं । तर यो सदुपयोग मात्र भइरहेको छैन । कम्प्युटर साइन्स, डिजिटल एवम आइटीको डेभलपमेन्टलेसुविधा दियो भन्ने चिन्ता त कतै छैन । साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुखसुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो ।’
उनले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानून नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको दस वर्ष पुगेको अवस्थाका संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने बताए। प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले मानिसलाई सहज र सरल बनाइ सुख सुविधा दिने भएकाले यसको दुरुपयोगका कारण सभ्य समाजका लागि अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै लोकतन्त्रमा सबै मानव जातिले सुविधा पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको जनाए।


हामी पूर्ण लोकतन्त्र चाहान्छौँ । हाम्रा सबै सामाजिक प्रबन्धहरुले मानवीय सुख र सहज आपूर्तिको परिपाटी बसाउनुपर्छ । देशलाई पछ्यौटेपनबाट अगाडि बनाउने प्रयासलाई हामी सफल बनाएर छाड्ने छौँ ।”