प्रथम कोटेश्वर महोत्सव २०८१ पुष १२ र १३ गते

२०८१ पुष १०, बुधबार १४:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । कोटेश्वर व्यवसायी संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गोरख बहादुर थापाले महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गर्ने जानकारी दिएका छन्  महोत्सवमा ७०० जना व्यवसायी सहभागिता हुनेछन भन्ने दैनिक २५००० जना ग्राहकहरु आउने अपेक्षा राखेका छन् |

काठमाडौंको कोटेश्वर क्षेत्र पौराणिक किंवदन्ती अनुरुप सतीदेवीको बाया हात पतन भएर स्थापना भएको भगवान शिव तथा सत्य देवीको मन्दिर साथै गगनेश्वर मुर्ति समेत रहेको भूमि हो । यसै भूमिमा कोटेश्वर व्यवसायी संघ दुई दशक अगाडि २०६३ साल पौष १२ गते स्थापित संस्था हो । कोटेश्वर क्षेत्रको बजार व्यवस्थित गरी व्यवसायीहरुबीच एकता, सद्भाव, भ्रातृत्व र पेशागत आचरणको अभिवृद्धि गर्ने उद्देश्यसहित स्थापना भएको संस्था हो । यस संस्थाले व्यवसायी र घरधनी तथा व्यवसायी र उपभोक्ताबीच साथै व्यवसायी र स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबीच सम्बन्ध सुमधुर बनाई व्यवसायीहरुको हकहित संरक्षण र संवर्द्धन गर्दै सामाजिक कार्यहरुमा हातेमालो गरी विद्यमान समस्याहरुको समाधानमा नेतृत्वदायी पहल गर्दै व्यवसायिक वातावरण निर्माणका लागि पहल गर्दै आइरहेका छन् ।

यसै सन्दर्भमा कोटेश्वरको ऐतिहासिक महत्वका पहिचान अभिबृद्धि गर्न, आर्थिक क्षेत्रमा देखिएका शिथिलताहरु चिर्न, आर्थिक क्षेत्रमा टेवा पुऱ्याउने तथा व्यापार व्यवसाय प्रवर्द्धन गरी कोटेश्वरको व्यवसायलाई थप पहिचान दिलाउन पहिलो पटक काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनज्यूको प्रमुख आतिथ्यतामा कोटेश्वर व्यवसायी संघको पौष १२ गते १९ औं स्थापना दिवसकै शुभ अवसर पारेर ‘प्रथम कोटेश्वर महोत्सव- २०८१’ आयोजना गर्न लागिएको जानकारी गराउँछौं । महोत्सव अन्तर्गत आगामी पौष १२ र १३ गते कोटेश्वरको तीनकुने चौरमा विशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना हुने जानकारी गराउँदछौं । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन भने सांस्कृतिक झाँकीसहित विभिन्न बाजागाजामार्फत कोटेश्वर बजार परिक्रमा गरी कार्यक्रमको मुख्य स्थल तीनकुने चौरमा विशेष कार्यक्रम गरिनेछ । पौष १२ गते दिउँसो १ बजे काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह ज्यूले तीनकुने चौरमा महोत्सव उद्घाटन गर्नुहुनेछ भने उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाकै उपप्रमुख सुनिता डंगोल ज्यूसहित यस क्षेत्रका माननीय ज्यूलगायत सबै राजनीतिक दलका नेता, प्रतिनिधि, स्थानीय जनप्रनिधिसहित यस क्षेत्रका व्यवसायी, स्थानीयबासी, उपभोक्ता लगायत उपस्थित हुनुहुनेछ । १३ गते सांस्कृतिक कार्यक्रम सहित साँझ महोत्सव समापन गरिनेछ । महोत्सवको सन्दर्भमा यही पौष १० गतेदेखि नै कोटेश्वर बजार क्षेत्र साजसज्जावटले फिलिमिली पारी आकर्षक बनाई उपभोक्ताहरुलाई विशेष छुटसहित सामग्रीहरु बिक्री वितरणको व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा रहेका तथा राष्ट्रिय स्तरमा रहेका विभिन्न संघ संस्था, व्यवसायीहरुले स्टलमार्फत विशेष छुटमा आफ्नो सेवा उपलब्ध गर्ने छन् ।

यस महोत्सवले कोटेश्वर क्षेत्रको बजारलाई उपभोक्ताबीच परिचित गराई कोटेश्वर बजार क्षेत्रलाई व्यवसायी हबको रुपमा विकास गर्ने, कोटेश्वर क्षेत्रका सामाजिक, सांस्कृतिक, धार्मिक लगायत ऐतिहासिक स्थलहरुको पहिचान गराउने उद्देश्य महोत्सव आयोजकले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय