
चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुमै बजेट खर्च निराशाजनक देखिएको छ । २४ वटा गौरवका आयोजनाका लागि चालु, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरी कुल ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आधा समय बित्दा (पुससम्म) १५.१६ प्रतिशत मात्र खर्च भएको छ ।अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिइने प्रतिबद्धता जनाए । समग्रमा कुल बजेटको आकार नै कटौती गरिएका बेला राष्ट्रिय गौरवका आयोजनामा भने छुट्याइएको बजेट पनि खर्च हुन सकेको छैन ।
राष्ट्रिय गौरवका २४ आयोजनामध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सम्पन्न भई २०७९ जेठ २ देखि व्यावसायिक उडान सुरु भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भई आन्तरिकतर्फको उडान सञ्चालनमा आएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण विधि तयार नहुँदा सुरु नै हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत् आयोजनामा मुआब्जा वितरणको काम जारी छ ।


चालु आर्थिक वर्ष यी आयोजनाका लागि चालुतर्फ ३ अर्ब ५७ करोड ७९ लाख, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोडसहित कुल ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये कुल १५ अर्ब ८ लाख रुपैयाँ खर्च भएको हो ।
चालु आवमा कम खर्च गर्नेमा ठूला सडक आयोजनाहरु बढी छन् । बढी बजेट विनियोजन भएर पनि कम खर्च गर्नेमा मध्यपहाडी राजमार्ग, काठमाडौं तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) रहेका छन् । मध्यपहाडी राजमार्गका लागि चालु आवमा ९ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आधा समय सकिँदा अर्थात् पुस मसान्तसम्म १ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जसअनुसार चालु आवको पुससम्मको भौतिक प्रगति १८ प्रतिशत छ । त्यस्तै फास्ट ट्रयाकका लागि चालु आवमा ३० अर्ब ७ करोड ८६ लाख रुपैयाँ विनियोजन भएकोमा आधा समय सकिँदा १ अर्ब ५९ करोड ८५ लाख रुपैयाँ मात्र खर्च भएको छ । जसको भौतिक प्रगति पुससम्म ९.११ प्रतिशत छ ।Source:Kantipur