जाडोमा मुटु जोगाउने ‘अचूक मन्त्र’: सुन्तलादेखि लसुनसम्मको प्रयोग

२०८२ पुष २८, सोमबार ०३:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
जाडोमा मुटु जोगाउने ‘अचूक मन्त्र’: सुन्तलादेखि लसुनसम्मको प्रयोग र व्यायामको सही समयबारे डा. ओमको सुझाव
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जाडो मौसममा मुटु तथा समग्र स्वास्थ्यको विशेष ख्याल राख्न सर्वसाधारणलाई अपिल गरेका छन्। आफ्नो युट्युब च्यानल ‘ओम मूर्ति अनिल पोडकास्ट’ मार्फत एक भिडियो सन्देश जारी गर्दै उनले जाडोमा खानपान, व्यायाम र जीवनशैलीमा गरिने स-साना गल्तीले पनि स्वास्थ्यमा असर पार्न सक्ने भन्दै समयमै सचेत रहन आग्रह गरेका हुन्।
जाडोमा मुटुलाई कसरी जोगाउने?
जाडोमा चिसोले रगतका नलीहरू खुम्चिने हुनाले मुटुमा दबाब पर्छ र हृदयाघातको जोखिम बढ्छ। त्यसैले निम्न कुरामा ध्यान दिनुपर्छ:
१. के खाने ?
फलफूल र सागसब्जी: सुन्तला, अमला जस्ता भिटामिन-सी पाइने फलफूल र हरियो सागसब्जी प्रशस्त खाने।
घरेलु मसला: शरीर तताउन अदुवा, लसुन, मरिच र दालचिनीको प्रयोग गर्ने।
राम्रो बोसो: माछा, काजु, बदाम र ओखर जस्ता खानेकुरा खाने।
२. के नखाने/नगर्ने ?
धेरै नखाने: एकैपटक धेरै खानाले मुटुलाई भार पर्छ, त्यसैले ठिक्क मात्र खाने।
हानिकारक चिज: धेरै चिल्लो, रातो मासु (Red meat), धेरै नुन, रक्सी र चुरोट सेवन नगर्ने।
३. व्यायाम कस्तो गर्ने ?
समय: बिहानको अत्यधिक चिसोमा नहिँड्ने। घाम लागेपछि वा दिउँसो मात्र व्यायाम गर्ने।
तरिका: व्यायाम गर्नुअघि पानी पिउने र शरीर तताउने (Warm-up)। हतारमा छिटो हिँड्नुभन्दा बिस्तारै तर लामो समय हिँड्नु मुटुका लागि सुरक्षित हुन्छ।
४. औषधि र जाँच
प्रेसर र मुटुका बिरामीले डाक्टरलाई नसोधी औषधि छोड्नु हुँदैन। जाडोमा प्रेसर बढ्न सक्ने भएकाले बेलाबेलामा जाँच गराइराख्नुपर्छ।
५. न्यानो हुँदा सावधानी
हिटर वा कोइला बाल्दा कोठाको झ्याल/ढोका थोरै खुला राख्ने (हावा खेल्न दिने)।
हिटर बालेर कहिल्यै नसुत्ने।
आगो वा हिटर तापेर बस्दा एक्कासी जुरुक्क नउठ्ने (यसले रिँगटा लाग्न सक्छ)।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार