सुरु भयो देशको पहिलो फ्लाइओभर निर्माणको काम, सवारीसाधनका लागि नयाँ रुट

२०७९ माघ २९, आईतवार १२:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु भएको छ। निर्माणको काम आइतबारदेखि सुरु गरिएको सडक विभागले जनाएको हो।

विभागका प्रवक्ता भीमार्जुन अधिकारीले डिजाइन स्वीकृत भएर काम थालिएको बताए। मंसिरदेखि नै निर्माणको काम सुरु गर्ने भनिए पनि डिजाइनमा ढिलाइले हुन सकेको थिएन।

‘यसअघि निर्माण व्यवसायीले बुझाएको डिजाइनमा विभागले अध्ययन गरिरहेको थियो,’ उनले भने, ‘यसमा विभागले डिजाइनमा सानातिना कुराहरु परिमार्जन गर्न लगाएर केही दिन अगाडि डिजाइन स्वीकृत गरेको थियो।’

अधिकारीले यसको निर्माण कार्य सुरु हुनुभन्दा अगावै विभागले डिजाइन राम्रोसँग हेरेर मात्र स्वीकृति दिने प्रावधान रहेको बताए। त्यही अनुसार विभागले डिजाइन हेरेर स्वीकृति दिएको छ।

यो ठेक्कामा निर्माण व्यवसायीले नै डिजाइनको काम गर्नेगरी सम्झौता भएका कारण विभागले डिजाइन स्वीकृत गर्न समय लगाएको अधिकारी बताउँछन्। उनका अनुसार यसको यसको निर्माण कार्य १४ महिनामा सम्पन्न हुनेछ।

फ्लाईओभरको निर्माण कार्य सुरु भएसँगै यस रुट भएर चल्ने सवारी साधनको लागि ट्राफिक प्रहरीले नयाँ रुट तोकेको छ। त्यही अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि भनेर ट्राफिक व्यवस्थापन मिलाउन सुरु गरेको छ।

प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्ट ट्रयाकबाट चलाइने छ।

यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीलाई फाष्टट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।

विभागले इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा बनाउने गरी गत साउनमा टेन्डर आह्‍वान गरेको थियो। माघमा आरसी, समानान्तर र रेलिग्रे जेभी छनोट भएका थिए।

त्यस लगत्तै १७ करोड ६८ लाख लगानीमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए।Source:Bizmandu

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय